काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको खराब (निष्क्रिय) कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महिनाको तथ्याङ्कअनुसार कुल कर्जा प्रवाहमध्ये औसत पाँच दशमलव २४ प्रतिशत दुई खर्ब ८९ अर्ब ५६ करोड रुपैयाँ बराबर निष्क्रिय कर्जा देखिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ अर्ब ८० करोड रुपैयाँ बढी हो । गत वर्षको यही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये तीन दशमलव ९८ प्रतिशत अर्थात् एक खर्ब ९३ अर्ब ७६ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जा ४८ खर्ब ९७ अर्ब ३५ करोड रुपैयाँको पाँच दशमलव शून्य पाँच प्रतिशत अर्थात् दुई खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १६ प्रतिशत अर्थात् ७१ अर्ब ८३ करोड रुपैयाँ बढी हो । गत वर्ष वाणिज्य बैंकहरूले प्रवाह गरेको ४५ खर्ब ११ अर्ब १० करोड रुपैयाँ कर्जामध्ये तीन दशमलव ८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ४८ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
१७ वटा विकास बैंकहरूले पाँच खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ५६ प्रतिशत अर्थात् २८ अर्ब ८६ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० अर्ब ८३ करोड रुपैयाँले बढी हो । गत वर्ष यही अवधिमा विकास बैंकहरूले चार खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत अर्थात् १८ अर्ब दुई करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले एक खर्ब दुई अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दा त्यसको १३ दशमलव शून्य चार प्रतिशत अर्थात् १३ अर्ब ३८ करोड रुपैयाँ निष्क्रिय कर्जा छ । जुन गत वर्षको सोही अवधिको तुलनामा तीन अर्ब १२ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ४० प्रतिशत अर्थात् १० अर्ब २६ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।