काठमाडौ । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीवीच समास्या समाधान गर्न छलफल भएको छ ।
उद्योग वाणिज्य मन्त्रालयमा सोमबार भएको बैठकमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो । बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमतालगायतका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेटलगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।
कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर भए पनि किसानले चैते धानको उचित मूल्य पाउनुपर्नेमा जोड दिए । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत बसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा, वाणिज्य तथा आपूर्ति सचिव डा रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्था बारे जानकारी गराएका थिए । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ तोके पनि झापालगायत पूर्व र पश्चिमका जिल्लाहरूमा किसानले एक हजार पाँचदेखि एक हजार छ सय रुपैयामा बिक्री गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् ।