काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एन्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत सात वर्षदेखि बुङमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३औँ वार्षिकोत्सवको उपलक्ष्यमा समेत उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासँग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेकोे र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने संस्थाका सूचना अधिकारी तथा सहायक महाप्रबन्धक अर्चना प्रधानले बताइन् ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, चारवटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै एटीएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरूजस्ता आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको बताइएको छ । संस्थाले आफ्नो २३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहक तथा सेयरधनीहरू, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरूप्रति आभार प्रकट गरेको छ । साथै आगामी दिनहरूमा अझ सुदृढ, सरल, विश्वसनीय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।