काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघले हीरा तथा बहुमूल्य पत्थरमा मूल्यअभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुन सक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो । संघका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब तीन खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालीगढ र तिनका आश्रित समेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरे । सुनचाँदी तथा रत्न आभूषण व्यवसायीबाट राज्यलाई वार्षिक २० अर्ब रुपैयाँ राजस्व योगदान हुँदै आएको जानकारी दिँदै अध्यक्ष शाक्यले करको मारबाट आफूहरूलाई मुक्त गर्न अनुरोध गरे ।