काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको नाडा अटो सो २०२५ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने भएका छन् । आउँदो भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो सो हुँदैछ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई भेटी प्रमुख अतिथिको रूपमा उद्घाटन गरी दिन औपचारिकरूपमा आग्रह गरेको हो । अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई स्वीकार गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तरालपछि नेपालको अटोमोबाइल क्षेत्रलगायत समग्र निजी क्षेत्रमैत्री बजेट आएको बताए । यस्तै, छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलोपटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ उद्योग खोल्ने तयारी भइरहेको जानकारी दिँदै त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनुपर्नेमा जोड दिए । यस्ता मेनुफेक्चरिङ उद्योगलाई थप सुविधा उपलब्ध गराउन र नीतिमा स्थिरता ल्याउनका लागि उनले आग्रह गरे ।
यस्तै, अर्थमन्त्री पौडेलले नेपालका अटोमोबाइल व्यवसायीहरूले धेरैभन्दा धेरै राजस्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताएका थिए । उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।