काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये १५ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा जेठ महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् भने पाँचवटाले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
असार महिनाको लागि एनआईसी एसिया, कुमारी, एनएमबी, कृषि विकास र एभरेस्ट बैंकले अघिल्लो महिनाको तुलनामा व्याजदर केही घटाएका छन् भने बाँकीको स्थिर देखिएको छ । यी बैंकहरूले असार महिनाका लागि क्रमशः छ दशमलव ५५, पाँच दशमलव ५१, छ, पाँच दशमलव ४५ र छ दशमलव ६५ प्रतिशत व्याजदर तोकेका छन् । अघिल्लो अर्थात् जेठ महिनाको लागि भने यी बैंकहरूको यस्तो व्याजदर क्रमशः छ दशमलव छ, पाँच दशमलव ९१, छ दशमलव छ, पाँच दशमलव ५१ र छ दशमलव ६४ प्रतिशत थियो ।
अरू सबै बैंकहरूले असारमा पनि जेठ महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् । जसमध्ये नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पाँच दशमलव ७५ प्रतिशत व्याज तोकेको छ । जेठ महिनामा पनि सोही व्याजदर थियो । माछापुच्छ्रे बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ असार महिनाको लागि जेठ महिनाकै व्याजदरलाई निरन्तता दिएको छ । यो बैंकको व्यक्तिगत निक्षेपमा छ प्रतिशत व्याज दिएको छ । लक्ष्मी सनराइज, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलले पनि असारमा जेठ महिनाकै व्याजदर क्रमशः पाँच दशमलव ७५, छ र पाँच दशमलव ६५ प्रतिशत लाई निरन्तरता दिएका छन् ।
प्राइम कमर्सियल बैंकले पनि व्यक्तिगत निक्षेपतर्फ जेठ महिनाकै व्याजलाई निरन्तरता दिएको छ । प्राइमले असारमा व्याजदर छ दशमलव २५ प्रतिशत तोकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि असारमा पाँच दशमलव पाँच प्रतिशत व्याज दिएको छ । हिमालयन बैंकले पनि असार महिनामा छ दशमलव २५ प्रतिशत व्याज तोकेको छ । नेपाल एसबीआर्ई बैंकले जेठ महिनाको जत्ति नै पाँच दशमलव पाँच प्रतिशत व्याज तोकेको छ । सिद्धार्थ बैंकले पनि असारमा पाँच दशमलव ७५ प्रतिशत व्याजदर तोकेको छ ।
सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि जेठ महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकहरूले असारमा मुद्दती निक्षेपको व्याजदर क्रमशः छ दशमलव ३३, पाँच दशमलव ४५, छ दशमलव एक, छ दशमलव २५ र छ प्रतिशत तोकेका छन् ।