काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पालिकाका कर्मचारी तथा वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गराउन पत्राचार गरेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयले स्थानीय तहमा पत्राचार गरेको हो । त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयको सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिला मन्त्रालयले पत्राचार गरेको हो ।
पालिकाका राष्ट्रसेवक कर्मचारीसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणका लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ । यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायहरूमा समेत यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो । यसले ऐनमा व्यवस्था भएर पनि हालसम्म लागू हुन नसकेको प्रावधान लागू हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए ।
स्वास्थ्यसचिव डा. विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताए । स्वास्थ्य बीमा ऐन २०७४ मा प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ भन्ने विषय उल्लेख छ ।