काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । प्रभु बैक लिमिटेडको नौ हजार आठ सय २२ कित्ता सेयर र छिमेक लधुवित्त वित्तिय संस्थाको दुई लाख ४४ हजार चार सय ८० कित्ता सेयर बिक्रीका लागि मंगलरबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।
कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ र छिमेक लघुवित्त वित्तीय संस्थाको लागि सेयरको न्यूनतम मूल्य प्रतिकित्ता तीन सय ९० रुपैयाँ तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम एक हजार कित्ताको लागि र छिमेक लधुवित्त वित्तीय संस्थाको लागि न्यूनतम ५० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
आवेदन आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेस गर्न सकिनेछ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ/संस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।