काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गरेको १२ दशमलव ६३ प्रतिशत लाभांश साधारणसभाबाट पारित भएको छ । इन्स्योरेन्सको काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न आठौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो ।
इन्स्योरेन्सको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँको १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमा १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश थियो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी पाँच अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न वा अन्य आवश्यक कार्य गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।