काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको संख्यामा पछिल्ला दिन उल्लेख्य वृद्धि भएको छ ।
चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको संख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकोमा पछि सन्ध्याकालीन समय थप गरी साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ । नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । उक्त सेवा सुरु हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म भने जम्मा ८४ हजार तीन सय ३६ जनाले अवलोकन गरेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
यस अवधिको तुलना गर्दा १४ हजार आठ सय ८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई करिब २५ लाख रुपैयाँ बढी आम्दानी भएको उनले बताए । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ । हाल चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई २ सय, विद्यार्थीलाई १ सय ३५, ज्येष्ठ नागरिकलाई १ सय, बालबालिकालाई ७५, ‘सार्क’ मुलुकका नागरिकलाई ५ सय र विदेशी नागरिकलाई एक हजार रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरेको छ ।