पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्ट तथा डाइनामिक एकेडेमीलेले यस वर्षदेखि ‘हेरौं, सिकौं र कमाऔँ’ भन्ने मूल नारासहित विद्यालय तहमै व्यावहारिक तथा व्यावसायिक शिक्षाको अभियान सुरु गरेको छ ।
यस अभियानअन्तर्गत कक्षा १ देखि नै विद्यार्थीहरूलाई कृषि तथा साना व्यवसायसँग सम्बन्धित स्व–लगानीमा आधारित प्रोजेक्टहरू सञ्चालन गराइँदैछ । विद्यार्थीहरूले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनामार्फत बासमती खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापनजस्ता विभिन्न तालिम तथा व्यावहारिक ज्ञान लिइरहेका छन् । कृषि विज्ञ डा. विश्वास सुवेदीको प्राविधिक सुपरीवेक्षणमा सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान (मार्केट रिसर्च), मार्केटिङ आदिका कुराहरूमा दक्ष बनाउन मद्दत गरेको छ ।
विद्यालय निर्देशक कृष्ण गुरुङले पुस्तकमा सीमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले यस अभियानको थालनी गरेको बताए । स्कुल इन्चार्ज एलिना पराजुलीले विद्यार्थीहरूलाई सानो उमेरदेखि नै लगानी र आत्मनिर्भरता सिकाउने प्रयासमा लागेको बताइन् । ‘१२ कक्षा सकिएपछि उनीहरू रोजगारका लागि मात्र होइन, आफैं सानो व्यवसाय सञ्चालन गर्न सक्ने योग्य बनिसकेका हुन्छन्’, उनले भनिन् । विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यस कार्यक्रमबाट विद्यार्थीमा आएको परिवर्तन देखेर आफू उत्साहित भएको बताए ।