दोलखाको वैतेश्वर गाउँपालिकालाई २०७४ सालदेखि हालसम्म छवि लामाले नेतृत्व गरिरहेका छन् । राज्य पुनर्संरचनापश्चात भएको स्थानीय तहको निर्वाचनमा लामाले लगातार दुई कार्यकाल वैतेश्वरको अध्यक्ष पदमा चुनाव जितेर काम गरिरहेका छन् । पालिका अध्यक्ष भएपछि लामाले विशेषगरी ग्रामीण सडक र गोरेटो बाटो निर्माण पालिकाको पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँछन् । समृद्ध गाउँ सहर बनाउन सडक पहुँच अनिवार्य रहेको उनको धारणा छ । सडकको पहुँच विस्तारसँगै कृषिमा विस्तार, शिक्षा स्वास्थ्य क्षेत्रमा सहजता भएको उनको दाबी छ । दोलखाका अन्य पालिकाका तुलनामा वैतेश्वरले विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । उनै गाउँपालिका प्रमुख छवि लामासँग आर्थिक दैनिक दोलखा संवाददाता सुवास बस्नेतले पछिल्लो आठ वर्षको अवधिमा वैतेश्वरमा भएका विकासका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश :
आठ वर्षदेखि वैतेश्वर गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ, यो अवधिमा पालिकामा के– कस्ता परिवर्तन भए ?
वैतेश्वर कस्तो थियो, कस्तो छ र भोलि कस्तो हुनेछ भन्ने म हरदम सोचिरहेको हुन्छु । जब म अध्यक्षमा निर्वाचित भएँ, मेरो कार्यकालमा वैतेश्वरलाई यस्तो बनाउने छु भनेर मनमनै नक्सा खिचेँ । दिमागमा अनेक कुरा खेलाएँ । पहिलोपटक अध्यक्ष हुँदै गर्दा कसरी यो पालिकाको मुहार फेर्न सकिन्छ भनेर सपना बुन्थेँ । जनताको घर आँगनमा कसरी खुसी पु¥याउन सकिन्छ भनेर बुद्धि खियाउँथे । मैले सोचेँ, ‘यहाँका जनताको घरघरमा खुसी र सुख पु¥याउन सडक आवश्यक छ ।’ त्यसैले मेरो पहिलो प्राथमिकता सडक र सुविधाको पदमार्ग भयो । पहिलोपटक निर्वाचित भइसकेपछि धमाधम सडक निर्माण थालेँ ।
विकास निर्माण सहज बनाउन कार्यपालिकाको निर्णयमा आवश्यक ऐन, कानुन, नीतिनियम बनाउन सुरु गयौँ । त्यसैको आडमा कामलाई तीव्रता दिँदै योजनाबद्ध विकासमा जुटेँ । दोस्रो कार्यकाल सम्हालेपछि पनि सडकलाई प्राथमिकता दिएको छु । सडकबाहेक हामीले स्थानीयहरूको माग अनुरूपका योजना छनोट गरी शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, कृषि, बाटोघाटो र पूर्वाधारका कार्यक्रम पनि साथै अगाडि बढाउँदै लगेका छौँ ।
सडक र गोरेटो बाटोलाई प्राथमिकतामा दिएको भन्नुभयो, हालसम्म कति सडक र गोरेटो बाटाहरू निर्माण भए ?
हामीले चुनावका क्रममा केही प्रतिबद्धता गरेका थियौँ । ती कुराहरू पूरा गर्दै लगेका छौँ । ग्रामीण सडकलाई पहिलो प्राथमिकतामा राखेर पहिलो चरणमा साघुँरा सडकलाई फराकिलो बनाउदै वर्षभर नै सवारीसाधन चल्न सक्ने बनायौँ । आठ वर्षमा तीन सय ४५ किलोमिटर सडक विस्तार गर्दै सडकको गुणस्तर वृद्धिमा जोड दिएका छौँ । आठवटै वडामा पक्की सडकको पहुँच पु¥याई छोटो समयमै स्वास्थ्य चौकीमा पुगी सेवा लिने वातावरण सिर्जना गरेका छौँ ।
हालसम्म गाउँपालिकाभित्र करिब २५ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिसकेका छौँ । २७ किलोमिटर पक्की गोरेटो बाटो निर्माण भइसकेको छ । पहिलो कार्यकालमै पालिकाको केन्द्र तोकेर मुख्य प्रशासनिक भवनबाट सेवा प्रवाह ग¥यौँ । हाल सबै वडाको भवन निर्माण गरेर आफ्नै भवनबाट सेवा प्रवाह भइरहेका छ । ‘एक वडा, एक पक्की सडक’ अभियानअन्तर्गत पालिका केन्द्रलाई जोड्ने उद्देश्यले काम भइरहेको छ । जनताको सुरक्षित पद यात्राको लागि दुई सय १४ स्तरीय गोरेटो बाटाहरू निर्माण गरिएको छ । गोरेटो निर्माण हुन नसकेका बाँकी गाउँटोलमा पनि आफ्नो कार्यकालभित्र बाटो पुर्याउने लक्ष्य लिएको छु ।
गाउँपालिकाले सडक र गोरेटो बाटोलाई प्राथमिकता दिएको देखियो । स्थानीय खोलानालामा पुलहरूचाहिँ के–कति निर्माण भएका छन् ?
गाउँपालिकाले पछिल्लो आठ वर्षमा स्थानीय नागरिकको सहजताका लागि झोलुङ्गे पुल चार वटा र तीन वटा ट्रस पुल निर्माण गरेर वर्षाको बेला खोला तर्दा हुने जोखिमको अन्त्य गरेको छ । निर्माण गर्न बाँकी खोला–खोल्सामा निर्माण गर्ने योजना बनाएको छ ।
वैतेश्वर गाउँपालिकामा धेरै स्थानीय खानेपानीको समस्या थिए, खानेपानी अभाव भएको गाउँ बस्तीमा खानेपानीको पहुँच पुर्याउनु भएको छ त ?
गाउँपालिकाले स्वच्छ खानेपानी उपलब्ध गराउन ‘एक घर, एक धारा कार्यक्रम’ अन्तर्गत ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानीको पहुँच पुगेको छ । स्थानीय आधारभूत आवश्यकता अनुरूप खानेपानी ‘एक घर एक धारा‘ कार्यक्रम अन्तिम चरणमा पुग्दा यहाँका ८५ प्रतिशत बस्तीमा स्वच्छ खानेपानी तथा सिँचाइ पुगेको छ । बाँकी बस्तीमा आगामी वर्षहरूमा ‘एक घर, एक धारा‘ कार्यक्रम पुर्याउने योजना बनाएको छौँ । वैतेश्वर गाउँपालिका धेरै खानेपानी समस्या भएको वडाहरू वडा नम्बर ५ र ६ हो । अहिले यिनै वडामा ‘एक घर, एक धारो‘ कार्यक्रम सञ्चालन भइरहेको छ । वडा नम्बर–३ यार्सादेखि ठेक्कामार्फत खानेपानी योजना निर्माण भइरहेको छ । अझै पनि हामीले दीर्घकालीनरूपमा खानेपानी मुहानहरू खोजिरहेका छौँ ।
गाउँपालिकाका स्थानीय नागरिकको स्वास्थ्यलाई कसरी लिनुभएको छ । के यहा“का जनताले समयमै स्वास्थ्य उपचार पाएका छन् ?
पालिकाभित्रका आम–समुदायका नागरिकको स्वास्थ्यप्रति पालिकाले चासो दिएको छ । गाउँपालिकाले १५ वेड्को वैतेश्वर अस्पतालसँगै सात वटा बर्थिङ सेन्टर निर्माण गरी सेवाह गरिरहेको छ । केही वडामा पक्की स्वास्थ्य चौकी भवन निर्माण भइरहेका छन् । पालिकाले सामुदायिक स्वास्थ्य इकाई थप गरी कुपोषणमुक्त गाउँपालिका निर्माण गर्ने लक्ष्य राखेको छ । अझै पनि स्वास्थ्य सेवालाई थप प्रभावकारीरूपमा अगाडि बढाउने गरी योजना ल्याएका छौँ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।
शिक्षा तथा खेल क्षेत्रमा गाउँपालिकाको लगानी कस्तो छ त ?
हामीले शिक्षा क्षेत्रको विकासलाई पनि प्राथमिकता साथ अगाडि बढाएका छौँ । विद्यालय संख्याभन्दा गुणस्तरलाई महत्व दिएर विद्यालय समायोजन र दरबन्दी मिलानलाई जोड दियौँ । विद्यार्थी खाजा, शिक्षकको वृत्तिविकास, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति कार्यक्रम सुरू गरेका छौँ । यस पालिकाभित्रका विद्यार्थीहरूलाई प्रोत्साहित गरी डाक्टरहरू उत्पादन गर्न समेत लगानी गरिरहेका छौँ । शिक्षा क्षेत्रलाई हामीले थप व्यवस्थित बनाउन गाउँपालिकाभित्र कार्यारत कर्मचारी र जनप्रतिनिधिले आफ्नो छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेका छौँ । सोहीअनुरूप करिब ८० प्रतिशत कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरिसक्नुभएको छ ।
हामी यो निर्णयलाई शतप्रतिशत पुर्याउन कोसिस गरिरहेका छौँ । पालिकालाई नागरिकमैत्री बनाउन हरसम्भव प्रयास जारी छ । जनप्रतिनिधि र कर्मचारीलाई अझै बढी जिम्मेवार बनाउने काम भइरहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम आधारभूत तथा माध्यमिक तहको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने गरेको छ । क्षेत्रफलको आधारमा दोलखा जिल्लाकै सबैभन्दा सानो वैतेश्वरले वार्षिक परीक्षाको नतिजाअनुसार आफ्नो छुट्टै पहिचान स्थापित गर्ने सफल भएको छ । एसएलसी र एसईईमा परीक्षामा २०६० देखि हालसम्म यहाँका आठ वटा सामुदायिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
खेल क्षेत्रमा गाउँपालिकाले लगानी वृद्धि गर्दै वडा, विद्यालय तथा गाउँपालिकामा खेलमैदान निर्माणलाई प्राथमिकता दिएका छौँ । गाउँपालिकाले खेलाडी उत्पादन गर्दै राष्ट्रियस्तरमा चिनाउन विभिन्न खेल कार्यक्रम विद्यालय तथा गाउँपालिका, वडा पालिकामा आयोजना गर्दै आएको छ ।
धेरै स्थानीय तह सुशासनमा चुकेको देखिन्छ, तपाईंको स्थानीय तहमा सुशासनको अवस्था कस्तो छ ?
हरेक योजनाका विषयमा सार्वजनिक परीक्षण र हरेक चौमासिकमा गाउँपालिकाको सार्वजनिक सुनुवाइ गर्दै आएका छौँ । गुनासाहरू सुन्ने, नागरिक वडापत्रको प्रभावकारी कार्यान्वयन गर्ने अभ्यास थालेका छौँ । ठाउँ–ठाउँमा गुनासो पेटिका राखेका छौँ, गाउँपालिकाबाट वितरण गरिने कार्यक्रम, योजना तथा बजेटको जनप्रतिनिधितह बाटै अनुगमन गर्ने गरिएको छ ।
कृषक र किसान हितमा के कस्ता कार्यक्रम र योजना ल्याउनु भएको छ ?
वैतेश्वर गाउँपालिकाले तीव्र विस्तार गरेको सडकबाट प्रत्यक्ष लाभ किसानलाई भएको छ । यहाँका किसानले उत्पादन गरेको तरकारी, फलफूल, आलु, लसुन, प्याज तथा अलैँची, किबि, आलु, सुन्तला सागसब्जी र अन्य उत्पादनहरू बिक्री हुन थालेको छ । जतात्यतैबाट मोटर ल्याउन सजिलो भएपछि व्यापारीहरू किसानको घरमै पुगेर लसुन, किबि, सुन्तला, कुचो, अलैँची, आलु खरिद गर्छन् ।
पालिकाले किसानका लागि उत्पादनमुखी कार्यक्रमहरू ल्याएपछि उत्पादन केही वृद्धि भएको छ । वैतेश्वरको एवोमा उत्पादन भएको दूध, आलु सदरमुकाम तथा राजधानी काठमाडौँ जान थालेको छ । हामीले कृषि तथा पशुपन्छी प्रवद्र्धन कार्यक्रम अगाडि बढाउने भएका छौँ । कृषि क्षेत्रका विभिन्न योजना बजेटमा समावेश गरेका छौँ । किसानलाई दूधमा अनुदान, गाईभैँसीलाई पालक किसानलाई प्रोत्साहन अनुदान प्रदान, बंगुरपालक, मौरीपालक, बाख्रापालक किसान तथा फलफूल खेतीका किसान र तरकारी, आलु, मकै, ड्रागन, किबि खेतीका व्यावसायिक किसानलाई अनुदान दिँदै आएका छौँ । पालिकाको सहयोगले कृषि जनता जगाउँदै लगिएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका के–के गर्यो ?
सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा समुदायअनुसारका धार्मिक स्थलहरू निर्माण गरिरहेका छौँ । नेपालीको पहिचान प्राचीन सम्पदाहरू हुन् । धर्म, संस्कृति, रीतिरिवाज हुन् । मन्दिर तथा गुम्बाहरू धार्मिक आस्थाका केन्द्रहरू हुन् । सम्पदाको जगेर्ना, सम्बद्र्धन, उत्थान गर्नलाई हामीले पालिकाभित्र १३ वटा बुद्ध मूर्तिहरू निर्माण गरेका छौँ । आठ वडाका भिन्न स्थानमा नौ वटा मठमन्दिरहरू, छ वटा गुम्बा र पाँच ठाउँ घाट निर्माण गरिएको छ ।
सूचना प्रविधि क्षेत्रको अवस्था कस्तो छ ?
यस गाउँपालिकाले पछिल्लो आठ वर्षमा सूचना प्रविधिमा ठूलो फड्को मारेको छ । पालिकाभित्रका सबै सरकारी तथा सार्वजनिक कार्यालयमा डिजिटल ई–हाजिरी, सीसीटीभी जडान, डिजिटल बोर्ड, गाउँका विद्यालयमा इन्टरनेटदेखि नागरिकलाई पालिकाको गतिविधि र विकाससँग जोड्न तथा सूचना प्रवाह गर्न स्थानीय रेडियो स्थापना गरेको छ ।