काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बीमालेख नवीकरण गर्दा अधिकतम ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीका अनुसार व्यतीत बीमालेख असार ४ देखि १५ गतेसम्म नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिइनेछ । यस्तो छुट समुन्नति जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने पाइने छैन ।
कम्पनीले दुई वर्षभन्दा कम अवधिका व्यतीत बीमालेखमा ७५ प्रतिशत, दुईदेखि तीन वर्षसम्मका बीमालेखमा ५० प्रतिशत र तीन वर्षभन्दा बढी अवधिदेखिका व्यतीत बीमालेखमा २५ प्रतिशत छुट दिनेछ । साथै, यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।
यसअघि विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिनेछैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः ब्याज छुट प्रदान गरिनेछैन । बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डरराइटिङ प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीको भनाइ छ ।