काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङको चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक सय ३६ करोड रुपैयाँबराबरको वित्तीय व्यवस्थापन गर्ने सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्वित परियोजना हो । चाइनिज ठेकेदार कम्पनीलाई ईपीसी मोडेलमा ठेक्का दिइएको छ जसअनुसार आयोजना दुई वर्षभित्र निर्माणसम्पन्न गरिनेछ । परियोजनाबाट उत्पादन हुने विद्युत् मनाङको धारापानीस्थित सब–स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावरबीच विद्युत् खरिद–बिक्री सम्झौता २०८२ सालको वैशाख महिनामै भइसकेको छ । यो आयोजना सम्पन्न भएपछि वर्षेनी ४४.४६३ गिगावाट–आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । एभरेष्ट बैंक पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापना भएको बैंक हो ।
बैंकको सकैक्षेत्रमा गरी एक सय ३२ वटा शाखा, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र एक सय ६७ वटा एटीएम काउन्टर रहेका छन् । हालसम्म एभरेष्ट बैंकसँग १४ लाखभन्दा बढी ग्राहक छन् । नेपाल सरकारको राजस्व संकलनका लागि बैंकले ३२ स्थानमा संकलन केन्द्रबाट सेवा दिइरहेको छ । साथै भारतको नयाँ दिल्लीसहित अन्य देशहरूमा समेत प्रतिनिधि कार्यालय स्थापना गरेर सेवा विस्तार गरिरहेको छ ।