काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपीमा कार्यान्वयनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा चेम्बर पदाधिकारी तथा अन्य व्यावसायिक संघसंस्थाहरूका पदाधिकारीहरूको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उद्योगी र व्यापारीको व्यावहारिक समस्या समाधान गरेर मात्रै एमआरपी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरले मन्त्री मण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने बताएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिन तथा बजार र मालवस्तुका बारेमा हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडि बढाइनुपर्ने अहिलेको आवश्यक्ता देखिएको छ ।’ व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रिन सक्ने अध्यक्ष अग्रवालले बताए ।
चेम्बर पदाधिकारीसँगको छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायसँगको समन्वयमा अविलम्ब थप छलफल गरी मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यक्ताअनुसार अघि बढाइने बताए । मन्त्रालयमा बुधबार भएको छलफलमा खुद्रा बिक्री मूल्य एमआरपीका सम्बन्धमा हाल देखिएका अन्यौलताबारे सबै सरोकारवालाबीचको आपसी छलफलबाट अविलम्ब टुङ्ग्याउनुपर्ने विषयमा सहमति भएको छ । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरूको पनि सहभागिता रहेको थियो ।