काठमाडौं । राइड सेयरिङ र फुड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फुड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक’ बिटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष छुटसहितको योजना क्याम्पस र अफिस जाने यात्रुलाई लक्षित गरिएको छ ।
पठाओ सेभर प्याकअन्तर्गत तीन प्याकेज स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक उपलब्ध हुनेछन् । स्टुडेन्ट प्याकको मूल्य दुई सय ९९ रुपैयाँ राखिएको छ । यो प्याकेज खरिद गर्ने विद्यार्थीले २६ वटा बाइक राइडसम्म प्रत्येकमा ४५ रुपैयाँ छुट पाउनेछन् । विद्यार्थीलाई सस्तो, भरपर्दो र नियमित यात्राको सजिलो समाधान दिने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । प्याक खरिद गर्न चाहने विद्यार्थीले विद्यार्थी परिचयपत्र अनिवार्यरूपमा देखाउनुपर्नेछ ।
अफिस प्याकको मूल्य चार सय ९९ रुपैयाँ तोकिएको छ । यस प्याकमा ग्राहकले १८ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ छुट, तीन वटा कार–लाइट राइडसम्म प्रत्येकमा एक सय २० रुपैयाँ छुट र तीन वटा कार–प्लस राइडसम्म प्रत्येकमा एक सय ५० रुपैयाँ छुट पाउनेछन् । कम्पनीले ल्याएको सुपर सेभर प्याकको मूल्य नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । यसअन्तर्गत १५ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ, पाँच वटा कार–लाइट राइडसम्म प्रत्येकमा एक सय ५०, पाँच वटा कार–प्लस राइडसम्म दुई सय रुपैयाँ छुट पाउनेछन् । साथै, पाँच वटा फुड अर्डरमा १० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्म छुट पाउनेछन् । नियमित राइड र फुड अर्डर गर्नेका लागि यो प्याक लक्षित गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार सेभर प्याकले ग्राहकको खर्च बचतमा सहयोग गर्नेछ । ग्राहकहरूले यी प्याकेजहरू पठाओको वेबसाइटमा उपलब्ध ब्लग सेक्सनमार्फत खरिद गर्न सक्नेछन् । हाल सेभर प्याक बिटा भर्सनमा सार्वजनिक गरिएको छ ।