काठमाडौं । सरकारले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि त्यहाँ रहेका नेपालीको आवश्कताअनुसार सहयोग गर्ने तयारी गरेको छ ।
इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपालीलाई आवश्यकताअनुसार राहत, उद्धारदेखि स्वदेश फिर्ता ल्याउनुपर्ने अवस्थाको पनि तयारी सरकारले गरेको छ । यस्तै तेस्रो मुलुकको ट्रान्जिट प्रयोग गर्नुपर्ने भएमा छिमेकी देशसँग समन्वय गरी उद्धारका लागि पहल गर्ने सरकारको तयारी छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बुधबार बसेको सरोकारवालाको बैठकले राहत, उद्धारदेखि स्वदेश फिर्ता र तेस्रो मुलुकको ट्रान्जिट प्रयोग गर्नुपर्ने भएमा छिमेकी देशसँग समन्वय गरी उद्धारका लागि पहल गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयमार्फत आग्रह गर्ने निर्णय गरेको छ । नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गर्ने, नेपाली नियोगसँगको समन्वयमा वैदेशिक रोजगारीमा रहेका नागरिकको आवश्यक सुरक्षालाई ध्यान दिई उपयुक्त परामर्श तथा यात्रा सूचना जारी गर्ने मन्त्रालयले जनाएको छ ।
बैठकले परराष्ट्र मन्त्रालयको सहसचिवको संयोजकत्वमा रहेको श्रम आप्रवासन तथा वैदेशिक रोजगार समस्या समाधान कार्यदललाई आपत्कालीन प्रतिकार्य टोलीका रुपमा समेत काम गर्नेगरी परिचालन गर्न सिफारिस गरेको छ । सम्बन्धित देशमा रहेका नेपाली नागरिकको सुरक्षा र सहयोगका लागि सुरक्षा कूटनीतिमार्फत आवश्यक पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने, वैदेशिक रोजगारीमा इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा जाने नेपालीलाई हवाई टिकट सार्नुपर्ने अवस्थामा सोबापत लाग्ने थप शुल्क छुटको व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले श्रम स्वीकृति लिई हाल वैदेशिक रोजगारीमा इजरायल, इरान र अन्य प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको तथ्यांक तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिएको सचिव पुस्करले जानकारी दिए । बैठकले इजरायल, इरान तथा प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गर्न ‘भर्चुअल’ तथा ‘टेलिमेडिसिन’ सेवालाई विस्तार र तत्काल उद्धार गर्नुपर्ने अवस्थामा तयारी गर्न वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सम्बन्धित देश तथा नेपाल सरकारले जारी गरेका सूचनाअनुसार आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । बैठकमा संसदीय समितिका सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र र गृह मन्त्रालय, अध्यागमन र वैदेशिक रोजगार विभाग, निजी क्षेत्रका छाता सङ्गठनको प्रतिनिधि सहभागी थिए ।