काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार बर्दिया बाँसगढी नगरपालिका–७ घर भएका ४२ वर्षीय भण्डारी कम्बोडियाबाट पक्राउ परेका हुन् । एनसीबी फोनम पेन्थ कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका भण्डारीलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको हो ।
‘मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक सय ४४ जना बचत(कर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँभन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योति गुरूङमार्फत सहकारीको करोडौँ रकम ठगी गरी लामो समयसम्म विदेशमा फरार रहेका प्रतिवादी ज्योतिबहादुर भण्डारीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलीमार्फत नेपाल ल्याई यस ब्युरोको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योति गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाइल्यान्डमा बसोबास गर्ने ज्योतिबहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराइदिने भनी ह्वाट्सएपमार्फत सहकारीका पदाधिकारीहरू र ज्योतिबहादुरबीच सम्पर्क गराएका थिए । त्यसपछि भण्डारीले सहकारी संस्थाका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनी ह्वाट्सएपमार्फत टोकनको फोटो पठाएको अनुसन्धानमा खुलेको छ । विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नुपर्छ भनी सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी तीन करोड ४४ लाख ७४ हजार तीन सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
सीआईबी प्रवक्ता खड्काका अनुसार भण्डारीको नाममा जारी भएको दुईवटा राहदानीमा दुई वटा फरक–फरक नागरिकता उल्लेख भएको, ज्योतिबहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योतिविरूद्ध रेड नोटिस जारी भएको थियो ।
कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौं ल्याइएका अभियुक्त भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले लिखत सम्बन्धी कसुर र ठगीको कसुरमा अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका भण्डारीलाई सीआईबीले बिहीबार अदालतमा उपस्थित गराएको थियो ।