काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको मागबमोजिमको जनशक्ति तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तत्र्रिmया गोष्ठीमा मन्त्री भण्डारीले नेपालको आफ्नै तथा विश्व श्रमबजारको मागबमोजिम सीप तथा क्षमता विकासमा जोड दिए । मन्त्री भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नु नै पर्ने चुनौतीलाई समाधान गर्न सबै सरोकारवालाहरू गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए । उनले भने, ‘देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरू छन्, हामीले तालिम दिएर मात्रै हैन, व्यावहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवद्र्धन गर्नुपर्नेछ ।’
उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा देखापरेको असिमेट्रिक मार्केट सिन्ड्रोम र म्युटेसन सिन्ड्रोमलाई तोड्न प्रभावकारी तवरले काम गर्न श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयले जोड रहेको प्रष्ट पारे । कार्यक्रममा सचिव डा. पुष्करले आन्तरिक रोजगार प्रवद्र्धनको दश वर्षे अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेका थिए ।