विराटनगर । नेपाल विद्युत् प्राधिकरणबाट वर्षा सुरु भएसँगै विद्युत् उत्पादन वृद्धि भई निरन्तर आपूर्ति हुने आश्वासन पाएका सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले अहिले पनि दैनिक विद्युत्मा भइरहेको ट्रिपिङका कारण प्रताडित हुन थालेको बताउन थालेका छन् ।
एकातिर नेपालमा उत्पादन हुने विद्युत् भारत तथा बंगलादेश निर्यात गर्ने भनी प्राधिकरणले भनिरहँदा अर्कातिर स्वदेशी उद्योग व्यवसायहरू विद्युुत्को ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत् कटौतीको मार खेप्न बाध्य रहेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । उनले दैनिक निरन्तर भइरहने विद्युुत्को ट्रिपिङले उद्योगको मिल मेसिनेरी बिग्रिन गएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकको काम नभई त्यसै राख्नुपरेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको गुुनासो गरेका छन् । अध्यक्ष राठीले उद्योगी व्यवसायीको यस्ता गम्भीर गुनासोहरू सम्बन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।