तेहरान । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । तर इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको छ ।
दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा इरानी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन् ।
‘आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमान्ड एन्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो’, अधिकारीलाई उद्धृत गरी इरानी सरकारी समाचार संस्था आइआरएनएले भनेको छ ।
‘विस्फोटको लहर’को असर अस्पतालमा परेको तर आक्रमणको ‘प्रत्यक्ष र सटीक लक्ष्य’ सैन्य सुविधा भएको इरानले बताएको छ । इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि आक्रमणबारे एक वक्तव्य जारी गरेको छ ।
‘यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको ‘कमान्ड एन्ड इन्टेलिजेन्स सेन्टर’लाई लक्षित गरिएको र क्षेप्यास्त्रको निशाना अत्यन्त सटिक र निर्देशित बनाइएको थियो’, सरकारी टेलिभिजनद्वारा प्रशारित इस्लामिक रिभोल्युसनरी गार्ड कोरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको थियो ।
इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ इजरायली प्रधानमन्त्रीको चेतावनी
इरानले अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतवनी दिएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नेतान्याहूले यस्तो चेतावनी दिएका हुन् ।
इरानको दक्षिणी सहर बेर्शेबामा रहेको सोरोका अस्पतालमा बिहीबार बिहान दर्जनौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि आगलागी भएको थियो । अस्पतालका निर्देशक श्लोमी कोदेशले केही दिनयता खाली गरिएको सर्जिकल भवनमा आक्रमण भएको र ४० जना घाइते भएको जानकारी दिए ।
उनले भने, ‘धेरै वार्डहरू पूर्णरूपमा ध्वस्त भएका छन् र सम्पूर्ण अस्पतालमा व्यापक क्षति पुगेको छ र मेडिकल केन्द्रका भवन, झ्याल, छतलगायतका अन्य संरचनाहरूमा क्षति पुगेको छ ।’