काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
अध्यक्ष सिंहले समीक्षा वर्ष २०८०/८१ मा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख गरिन् । कोभिड महामारीको दीर्घकालीन प्रभाव, भू–राजनीतिक संघर्ष एवं प्रतिकूल मौसमको कारणले आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भई खाद्यान्न, ऊर्जा र अन्य वस्तुहरूमा मूल्य वृद्धि भएको एवं देशभरमा सहकारीमा परेको समस्या, घर–जग्गा कारोबारमा छाएको मन्दी एवं वस्तु तथा सेवाको मागमा ह्रास आएको कारणले समग्र अर्थ व्यवस्था प्रभावित भएकोमा हाल अर्थतन्त्र सुस्त गतिमा रहेको भए पनि बाह्य सूचकांकहरू सकारात्मक रहेका र आन्तरिक आर्थिक अवस्थामा केही समयपछि सुधार आउने अपेक्षा उनले गरिन् ।
वार्षिक साधारणसभामार्फत कम्पनीले आव २०८०/०८१ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जनाएको छ । कम्पनीको कुल बीमाशुल्क २१ दशमलव ९० प्रतिशतले वृद्धि भई २०४९.१२ करोड रुपैयाँ पुगेको छ । समीक्षा वर्षको सञ्चालनबाट जम्मा १३६८.१८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा २१ दशमलव ७० प्रतिशतले वृद्धि भई वर्षान्तमा ७९६०.१८ करोड पुगेको छ । यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दाबी, अवधि समाप्ति एवं आंशिक अवधि समाप्ति दाबी, समर्पण मूल्य, दाबी एवं अन्य दाबी भुक्तानीमा ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ । कुल लगानी १७ दशमलव ३५ प्रतिशतले वृद्धि भई ७०१५.४६ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आव २०८०/०८१ मा सो दर नौ दशमलव १७ प्रतिशत कायम रहेको छ ।
कम्पनीले आफ्ना सबै लगानीयोग्य रकमहरू श्री नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्रभित्र रहेर पारदर्शिता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालीन लगानीका औजारहरूमा लगानी गर्दै आएको र यसबाट बीमितहरूको अधिकतम हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीले आफ्नो लगानी विविधीकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरूमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरूमा व्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्जस्थित भवन निर्माणकार्य सम्पन्न भई सञ्चालनमा आइसकेको छ । कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वामित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया पनि अघि बढाएको छ । कम्पनीलाई प्रविधिमैत्री बनाउन यथाशक्य लगानी भइरहेको छ । यसैगरी कम्पनीमा कर्मचारीहरूलाई प्रशिक्षित गर्न आवश्यक प्राविधिक तालिम प्रदान गर्नमा कम्पनी केन्द्रित रहेको छ ।