काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकायमा पुनः ध्यानाकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको भन्दै संघले धितोपत्र बोर्ड, बीमा प्राधिकरणलगायतलाई ध्यानाकर्षण गराएको हो ।
निर्जीवन बीमा व्यवसायी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यावहारिक रहेको जानकारी गराउँदछौँ । कम्पनीमा कायम रहेका सवै सेयरधनीजस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरूको साधारणसभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौँ ।’
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लले ‘सञ्चालकहरूको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’ भएकाले सो प्रावधान सच्याउनका लागि आग्रह गरिएको बताए । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए ।
सञ्चालकहरूले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत नियामक निकायलाई जानकारी दिई सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ ।’
सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।