काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । दुवै संस्थाहरूबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल–पे कार्ड)को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल–पे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल–पे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्वीच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपीएस–एनसीएस र नेपाल–पे कार्डमा आबद्ध भइरहेका छन् । नेपाल–पे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल–पे क्यूआर तथा यसका इन्टरपेरेबल क्यूआरको मर्चेन्ट क्यु र अलि–पेको नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ । चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटली, अष्ट्रिया, जर्मनीलगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल–पे क्यूआर तथा यसका इन्टरपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।