काठमाडौं । नेपालका हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघ र इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) बीच सम्झौता भएको छ ।
दुई संस्थाबीच नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आपसी समझदारी पत्रमा हस्ताक्षर भएको हो । महासंघका अध्यक्ष रवीन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा शर्मिला पराजुली ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यस समझदारीबाट नेपालको पहिचान र संस्कृतिको संवाहकको रूपमा रहेको नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्डको रूपमा विकास गर्न कूटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ । त्यसैगरि नेपाली हस्तकलाको प्रवद्र्धन कलाकार कालिगढहरूको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारी बनाईने विषयमा पनि दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।
हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकाले यसको अधिकतम प्रतिफल प्राप्त हुनुपर्ने कुरामा दुवै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझदारी पत्रमा उल्लेख भएको छ । त्यसैगरी हस्तकला क्षेत्रमा सीप र प्रविधिको पुस्तान्तरण चुनौतीपूर्ण रहेकाले यसको सम्बोधनमा पनि दुवै संस्थाले सहकार्य गरी अघि बढ्ने समझदारी भएको छ । उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका पदाधिकारीहरू र महानिर्देशकलगायतका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
महासंघका अनुसार नेपाली हस्तकला क्षेत्रमा हाल प्रत्यक्ष र परोक्ष गरी ११ लाख व्यक्तिहरू संलग्न रहेका छन् । हाल ३६ विधाअन्तर्गत ८२ प्रकारका हस्तकला वस्तुहरू पहिचान गरिएका छन् । ती वस्तुहरू हाल विश्वका ६० देशमा औपचारिक र अनौपचारिक गरी २२ अर्ब रुपैयाँ बराबरको हाराहारीमा निर्यात व्यापार भईरहेको महासंघले जनाएको छ । साथै, सोही रकम बराबरको देशभित्र पनि कारोबार हुने महासंघको भनाइ छ । महासंघका अनुसार यस क्षेत्रले करिब ४४ अर्ब रकम बराबरको राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ ।