काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल–बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ ।
‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो । कार्यक्रममा बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीले पर्यटन र जनस्तरको सम्बन्ध नेपाल–बङ्गलादेश सम्बन्धको आधारशीला भएको उल्लेख गरे । उनले दुई देशबीचको बढ्दो आपसी सम्बन्ध र सहकार्यमा सघन पर्यटन कूटनीतिको खाँचो औँल्याए । ‘हिमालयको शिखरसँग बंगालको गहिराइलाई साँच्चिकै जोड्न ठोस पहल आवश्यक छ’, उनले भने । साथै, उनले नेपाल सरकारद्वारा पर्यटन पूर्वाधार सुधारमा भइरहेको कार्यहरूबारे जानकारी दिँदै निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको समेत सक्रिय भूमिका रहेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका पर्यटन प्रवद्र्धन विभागका कार्यवाहक निर्देशक रोहिणी प्रसाद खनालले नेपालका विविध र समृद्ध पर्यटन उत्पादन तथा गन्तव्यहरूको बारेमा प्रस्तुति दिएका थिए । उनले बङ्गलादेशलाई नेपालको प्रमुख स्रोत बजारमध्ये एकको रूपमा चिनाउँदै, नेपाली गन्तव्यमा बङ्गलादेशी पर्यटकको आकर्षण बढिरहेको तथ्य प्रस्तुत गरेका थिए । साथै, उनले दुवै देशका ट्राभल एजेन्टहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउन आह्वान गरे ।
कार्यक्रममा सन् २०२४ मा सगरमाथा शिखर आरोहण गर्न सफल पर्वतारोही बाबर अलिले नेपाल भ्रमणका प्रेरणादायी अनुभवहरू स्मरण गरेका थिए । हालै अन्नपूर्ण हिमाल आरोहण गरेका उनले नेपालमा प्राप्त आतिथ्यता, प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै पर्वतीय चुनौतीहरूबारे जानकारी गराए । बङ्गलादेशका ट्राभल व्यवसायी संस्थाहरू एसोसिएसन अफ ट्राभल एजेन्ट्स अफ बङ्गलादेश (एटीएबी) तथा टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टीओएबी) चट्टग्राम शाखाका अध्यक्षहरूले नेपालसँगको पर्यटन सहकार्यमा बढ्दो विश्वास, व्यापारिक साझेदारी र भविष्यका सम्भावनाहरूको चर्चा गरेका थिए ।
कार्यक्रममा ‘¥याफल ड्र’मार्फत बङ्गलादेशका सहभागीहरूलाई नेपाल भ्रमण प्याकेज र ढाका–काठमाडौं आवागमन हवाई टिकट समेत प्रदान गरिएको छ । उक्त पुरस्कारहरू नेपाली ट्राभल एजेन्सीहरू, हिमालय एयरलाइन्स र बङ्गलादेश एयरलाइन्सको सहकार्यमा उपलब्ध गराइएको जनाइएको छ । यसैबीच नेपाल र बङ्गलादेशका ट्राभल एजेन्सी तथा टुर अपरेटरहरूबीच बीटुबी बैठक र नेटवर्किङ सत्रहरू सम्पन्न भएका थिए ।