काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन्।ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको समेत बताए।
इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकाले शनिवार इरानलाई "कूटनीतिक रूपमा" सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र "शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको" जनाएको थियो।ट्रम्पले आफ्नो सोसल मिडिया 'ट्रुथ सोसल'मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन्।कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया गरेका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।
इजरेलमा कडा सुरक्षा व्यवस्था
अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग "पूर्ण समन्वय" मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई 'साहसिक निर्णय' बताउँदै त्यसको प्रशंसा गरेका छन्।उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।
'बी-२ विमान प्रयोग'
ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्।ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्।
ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्।यसअघि अमेरिकी सेनाले आफ्ना बी-२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो।
त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए।(बीबीसी)