वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्ष (आव)को ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०/८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँचथरीका पेट्रोलियम पदार्थ मात्रै एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा ५२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताए । ‘चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ’, उनले भने, ‘बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।’
सो अवधिमा ३३ अर्ब १९ करोड रुपैयाँ मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै, ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा २६ अर्ब २३ लाख रुपैयाँ मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् । चालु आवको ११ महिनामा आयात मात्रै नभएर यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ । चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ । जबकि गत आवको ११ महिनाको अवधिमा भने यो नाका हुँदै २८ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो ।
गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय २१ दशमलव ७७ प्रतिशत अर्थात् ६३ अर्ब सात करोड रुपैयाँ बढीको निर्यात भएको हो । चालू आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित छ । चालू आवको ११ महिनामा ५५ अर्ब तीन करोड रुपैयाँ मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार सात सय ३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।