काठमाडौं । मोरङ उद्योग व्यापार संघको आयोजना तथा रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लब अफ विराटनगरको सहयोगमा ‘नेपाली अर्थतन्त्रमा सेयरबजारको प्रभाव’ विषयक कार्यक्रम आयोजना गरिएको छ ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य एवं विजटक कार्यक्रमका संयोजक ओम प्रकाश शर्माले नेपालको सेयरबजार हाल विकासशील तर अस्थिर अवस्थामा रहेको बताए । विद्यमान अवस्था हेर्दा नेपाली सेयरबजारको आकार ठूलो हुँदै गइरहेको तर कतिपय अस्पष्ट नीतिका कारण सेयरबजारमा उतार चढाव भई नै रहने उनले जिकिर गरे । नियमन सुधार, आईपीओ खुल्ने दर वृद्धि तथा निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक नीतिहरूबाट नेपाली सेयरबजार दीर्घकालीनरूपले सशक्त हुने, लगानीकर्ताहरूको आकर्षण बढ्ने र आर्थिक वृद्धिको एक महत्वपूर्ण माध्यम बन्ने उनको भनाइ छ ।
उक्त विजटक कार्यक्रममा प्यानलिस्टको रूपमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिल प्रालिका प्रबन्ध निर्देशक बिकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिज प्रालिका प्रोमोटर निखिल अग्रवाल र मोडरेटरको रुपमा केतन बोहराको उपस्थिति रहेको थियो । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेक अग्रवालको सहकार्यमा रोटरेक्ट क्लब अफ विराटनगरका अध्यक्ष पे्रम पारखद्वारा सञ्चालित उक्त कार्यक्रमलाई शुभकामना सेक्युरिटिज प्रालिले प्रायोजन गरेको थियो । कार्यक्रममा मोडरेटर र प्यानलिस्टहरू बीच नेपाली सेयरबजारको विद्यमान अवस्था र सुधारका विषयहरूमा चर्चा परिचर्चा भएको थियो ।