काठमाडौं, पर्सा जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको मागबमोजिम पर्सा जिल्ला अदालतले २०८२ जेठ १६ गते शर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका–५ घर भएकी शर्माविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको हो । उनीविरुद्ध आशाकुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । पक्राउ पुर्जी जारी भएकी सांसद शर्माले दुई लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएकी थिइन् ।
तर चेकमा उल्लेखित रकम नभएको भन्दै चेक बाउन्स भएको चौहानले दिएको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार शर्माले दिएको एभरेस्ट बैंकको चेकमा दुई लाख ७५ हजार रुपैयाँ उल्लेख छ । तर रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।