काठमाडौं । ६१ किलो सुन तस्करीको आरोपमा फरार रहेकी माओवादी नेतृृ अमला रोक्का पक्राउ परेपछि माओवादी नेतृत्वले भिजिट भिसा प्रकरणमा सहयात्रीहरूलाई अलपत्र पारेर सत्ताधारीहरूसँग गरेको दुई बुँदे सहमति उसकै लागि निल्नु न ओकेल्नु भएको छ । सीआईबीले गत मंगलबार टोखाबाट पक्राउ गरे पनि रोक्कालाई शुक्रबार मात्र सार्वजनिक गरेको थियो । उनी पक्राउ पर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई फसाउन सीआईबीलाई निर्देशन दिएको अभिव्यक्ति माओवादी नेताहरुले सार्वजनिक गरेका थिए ।
भिजिट भिसा प्रकरणमा राप्रपा र रास्वपासँगै सदनमा आन्दोलनरत माओवादीले उनीहरूलाई अलपत्र पारेर सत्तासँग लुसुक्क दुई बुँदे सहमति गरेको थियो । उक्त सहमतिपछि कांग्रेस र माओवादीको सत्तासमीकरण हुने, अग्नी सापकोटाविरुद्धको मुद्दा अघि नबढ्नेजस्ता अड्कलबाजी गरिए पनि स्वयं माओवादी अध्यक्ष प्रचण्डले चाहिँ अमेरिकाबाट डिपोर्ट भएर आएका क्रिमिनलहरूले देशको मायाले मासिक एक करोड रुपैयाँ आम्दानी छाडेर फर्किएको प्रतिक्रिया दिएजस्तै गरी संसद्मा विचाराधीन विधेयक पास गर्नुपर्ने भएकाले दुई बुँदे सहमति गरेको जवाफ दिएर उम्किने कोसिस गर्दै आए पनि त्यही ६१ किलो सुन तस्करीको छानबिन अघि नबढाउने भित्री सहमति गरेको बुझिएको छ । तर पनि रोक्का पक्राउ परेपछि माओवादी नेतृत्व आफैँ अप्ठेरोमा परेको छ । २०८० साल साउन २ गते ब्रेक सुको नाममा तस्करी भएको ६१ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो ।
हङकङमा सुन र फलाम पगालेर मिसाएर ल्याइएको उक्त धातु नेपालमा फेरि पगालेर छुट्याएर बिक्री गर्ने गरिएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री रवि लामिछानेले उक्त सुन तस्करीमा विवादस्पद व्यापारी दिपक मलहोत्राको संलग्नता रहेको समाचार आफू अनुकूूल मिडियाबाट सार्वजनिक गरेर सुन तस्करीका घटनालाई अन्यत्र मोड्न खोजेका थिए । तर मिडियाबाटै उक्त सुन तस्करीमा नेपाल बसेर धन्दा गर्दै आएका भारतीय नागरिक राकेश अडुकियाको संलग्नताको समाचार सार्वजनिक भएपछि अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका थिए । तर सत्ताको दबाबमा उनलाई प्रहरी र राजस्व अनुसन्धान विभाग कसैले पनि जिम्मा नलिएपछि उनी छुटेका थिए । एक क्विटल सुन तस्करीको आरोपमा उनी २०८० साउन २६ गते पक्राउ परेका थिए ।
नापतौलपछि उक्त तस्करीको सुन एक क्विन्टल नभई ६१ किलो रहेको भनिएको थियो । विवादास्पद भारतीय व्यापारी राकेश अड्कियामाथि अन्य धातुमा सुन मिसाएर तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ । सोही तस्करीको पूर्वन्यायाधीश डिल्ली आचार्यको संयोजकत्वमा गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दिलीप भुजेलको नाममा रहेको रेडी टे«ड प्रालिले ६० किलो सात सय १६ ग्राम सुन मगाएको खुलेको छ । भुजेलको नाममा भएको कम्पनीले सुन झिकाए पनि ठमेलमा होटल भियाना सञ्चालन गरेकी अमला रोकाका बेल्जियम नागरिक रहेका लोग्ने दावा छिरिङले उक्त सुन तस्करीको संयोजन गर्ने गरेको खुलेको थियो ।
सुन तस्करीमा उनी अगाडि देखिए पनि त्यसको पछाडि तत्कालीन अर्थमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीपुत्री गंगा दाहाल पूर्वसभामुख ओनसरी घर्तीलगायतको संलग्नता रहेको आशंका गरिएको थियो । उक्त आशंकापछि पनि अमला रोक्का परेकी थिइनन् । सत्ताले संरक्षण गरेर उनलाई भगाएको थियो । लामो समयसम्म उनी पक्राउ नपर्दा र भारतको अरुणाञ्चलमा रहेको बौद्ध गुम्बामा देखिएर बेपत्ता हुँदा उनको हत्या भएको हुन सने अड्कलबाजी पनि गर्न थालिएको थियो । तर त्यहाँबाट आएर उनी टोखामा रहेको माओवादीकै एक नेताको घरमा बस्दै आएको थाहा पाएपछि सादा पोशाकका प्रहरीले केही दिनअघिदेखि उनलाई घेरा हालेर राखेको थियो ।
उक्त सुनकाण्डमा रोक्का पक्राउ परेपछि आफूहरूलाई समस्या पर्ने देखेपछि खास गरी वर्षमान पुनको दबाबमा प्रचण्डले गत जेठ ३० गते संसद्को अवरोध अन्त्य गर्ने एमालेसँग दुई बुँदे अमूर्त सहमति गरेका थिए । उक्त सहमति गराउन प्रचण्ड जति आतुर देखिन्थे, प्रधानमन्त्री केपी ओलीले कुनै भाउ दिएका थिएनन् । भिजिट भिसा प्रकरणमा स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिएर संसद् अबरुद्ध गर्दै आएको माओवादीले हठात सम्झौता गरेर आफूहरूलाई अलपत्र छाडेपछि राप्रपा र रास्वपा पनि आश्चर्य चकित भएका थिए ।
प्रधानमन्त्री ओलीले माओवादीलाई त्यति भाउ नदिनुको पछाडि उनीहरूको वास्तविकता आफूलाई राम्ररी थाहा हुनु नै थियो भने माओवादी हतारिएर कांग्रेसलाई मनाएर तेस्रो तहका नेतासँग सहमति गर्न पुग्नुको पछाडि ६१ किलो सुनकाण्डको छानबिन नगरी भित्रभित्रै दबाउने वातावरण बनाउनु नै थियो । तर दुई बुँदे सहमति गरे पनि सरकारले सुनकाण्डको छानबिनलाई नरोकी अघि बढाएपछि अहिले माओवादीका लागि दुई बुँदे सहमति बोक्नु न टोक्नुको अवस्था बन्न पुगेको छ । किनकि उक्त सुनकाण्डमा माओवादीका ठूला नेता संलग्न रहेको आशंका छ । सानातिना कारिन्दाहरू यसअघि नै पक्राउ परेका छन् तर ठूलाठालु सत्ताको संरक्षणमा छानबिनको दायरा बाहिर रहँदै आएका छन् ।
पछिल्लो समय माओवादी नेतृत्वको घमण्ड र धोखा घडीका कारण सत्तावरिपरि रहेका ठूला पार्टीहरूसँग माओवादीको दूरी बढ्दै गएको छ र उसले निहुँ खोज्न थालेपछि माओवादी इतरपक्षबाट छानबिनको प्रयास अघि बढेको हो । यसै सिलसिलामा अमला रोक्का पक्राउ परेपछि माओवादी नेतृत्व अवाक बन्न पुगेको छ । पछिल्ला सुन तस्करीका घटना जताबाट छानबिन थाले पनि माओवादी अध्यक्ष प्रचण्ड निकटको नेतृत्व कोही न कोही नपर्ने सम्भावना कम रहेको छ ।