तेहरान । आइतबार बिहान अमेरिकाले इरानका तीनवटा आणविक स्थलहरुमा सातवटा बी–२ बमवर्षक विमान प्रयोग गरेर आक्रमण गर्यो । अमेरिकाले इरानमा गरेको सो आक्रमणलाई ‘अपरेसन मिडनाइट–ह्यामर’ नाम दिएको छ । जसका लागि एक सय २५ वटाभन्दा धेरै जेट विमानहरु संलग्न थिए ।
अमेरिकाले इरानको फोर्डो, नातान्ज र इस्फहान रहेका आणविक स्थलहरुमा आक्रमण गरेको हो । आक्रमण हुनुभन्दा अगाडि, बी–२ बमवर्षक विमानले अमेरिकाको मिसौरी ह्वाइट–म्यान एयर फोर्स बेसबाट उडान भरेको थियो । यी विमानले लगभग ३७ घण्टा निरन्तर उडान भरेका र मध्य हावामा धेरै पटक इन्धन भरेका थिए ।
बी–२ बमवर्षकहरुले फोर्डो र नातान्जका आणविक स्थलहरुमा एक दर्जनभन्दा बढी १४ हजार किलोग्राम जीबीयू–५७ बम (बंकर बस्टर) खसालेका थिए । उही समयमा इस्फहान र नातान्जमा ३० वटा टोमाहक क्रुज मिसाइलहरु प्रहार गरेको थियो ।
इरानका आणविक केन्द्रहरुमा आक्रमण गरेको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती आणविक स्थलहरु पूर्णरुपमा ध्वस्त भएको दाबी गरेका छन् । उनले ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै इरानले चाँडै शान्ति कायम नगरे संयुक्त राज्य अमेरिकाले थप आक्रमण गर्ने चेतावनी दिएका छन् ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणलाई ‘गैरकानुनी र अपराधिक’ भन्दै आफ्नो आफ्नो देशको सार्वभौमसत्ताको रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।