काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ ।
यसअन्तर्गत नेपालबाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिन्छ । एक सयभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ । यो सुविधाको थपसँगै अब ग्राहकहरू रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने, लाइनमा बस्नुनपर्ने साथै समयको समेत बचत हुनेछ । यो सुविधको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधिकेन्द्रित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रवर्द्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैंकिङ एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरूमा पहिलो विकास बैंक बनेको छ । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।