काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सीप मेला २०८२’मा संस्थागत साझेदारी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेलामा सहभागिता जनाएको हो ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’ को मुख्य उद्देश्य सीप नभएकाहरूलाई सीप सिकाउने र आधारभूत सीप भएकाहरूलाई थप दक्ष बनाउने हो । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मेलाअन्तर्गत १० विधामा ३७ पेसासँग सम्बन्धित तालिमहरू पूर्णरूपमा निःशुल्क प्रदान गरिँदैछन् ।
सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण
काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । उनले भने, ‘जब सिप मेला २०८२ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसर मात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौँ । यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्याउनेछ ।’
उनले थपे, ‘हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार ग¥यौँ, किनभने यसले युवालाई मार्गदर्शन, सीप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ ।’
सीप मेलामा नेपालभरिका युवाहरू सहभागी छन् । कोही पहिलो पटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन् । मेलाले उनीहरूलाई चाहिएको सीप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ । काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार ‘रोजगार र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराका साथ मेलाले तीन वर्षे योजनाअन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्दछ । मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ ।’
लक्षित वर्ग र तालिम व्यवस्थापन
सीप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो ।
तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन् । विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ । सीप मेलामा एक सहभागीले भने, ‘म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु । मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ ।’