काठमाडौं । शशीला मोटर्सले आफ्नो चौथो शाखा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले राझा चोकमा रहेको सो नयाँ शाखाको हालै एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री खत्रीले विद्युतीय सवारसाधनको बढ्दो मागलाई सकारात्मक संकेतका रुपमा लिँदै वातावरण प्रदूषण न्यूनीकरण र इन्धनको बचतका लागि इभी गाडीको प्रयोग अनिवार्य जस्तै भइसकेको बताए । साथै, उनले सेवा विस्तारसँगै गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै यातायात व्यवसायीसँग दीर्घकालीन सहकार्य गर्न शशीला मोटर्सलाई सुझाव पनि दिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पछिल्लो समय कोहलपुर र नेपालगञ्ज क्षेत्रमा इभी गाडीको प्रयोग उल्लेख्य रुपमा बढेको बताए । उनले आगामी दिनमा इभीको प्रयोग अझै तीव्र हुने भएकाले ग्राहकको आवश्यकता अनुसार सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए ।
शशीला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खड्काले नेपालगञ्ज शाखा कम्पनीको चौथो शाखा भएको जानकारी दिँदै सेवा विस्तार ग्राहकको मागअनुसारकै रहेको बताए । उनका अनुसार शशीला मोटर्सले हाइगर, किटोन, भ्यान्चे, चेरी वान्डा र रुइसुजस्ता चर्चित ब्रान्डहरूसँग साझेदारी गर्दै नेपालमा यी ब्रान्डका व्यावसायिक सवारीसाधन उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा विभिन्न यातायात कम्पनीका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शशीला मोटर्स नेपालगञ्ज शाखाबाट ईभी गाडी खरिद गर्ने ग्राहकहरूलाई चाबी तथा विशेष उपहार प्रदान गरिएको थियो । साथै, कम्पनीले हालै नेपालमा भित्र्याएको चेरी ब्रान्डको नयाँ ईभी बसमा उपस्थित सबैलाई यात्रा गराइएको थियो । दश वर्षदेखि व्यावसायिक सवारीसाधनको क्षेत्रमा सक्रिय शशीला मोटर्स अहिले विश्वप्रसिद्ध ब्रान्डहरूको नेपालका लागि आधिकारिक वितरकका रुपमा परिचित हुँदै गएको छ ।