काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सो भेटमा भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको उपराष्ट्रपति यादवले बताएका थिए ।
सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताएका थिए ।
नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।
उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजना र युएसएआइडीमार्फत भइरहेका कार्यक्रम पुनःसञ्चालन हुनेमा आशावादी रहेको बताए ।
राजदूत थम्प्सनले एमसिसी, युएसएआइडीलगायत अन्य विकास परियोजना सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको बताए । उनले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल तथा अमेरिका परस्पर सहकार्य गर्दै महत्वपूर्ण काम गर्न सक्ने बताएका थिए ।