काठमाडौं । विकास बैंकहरूले घरजग्गा कारोबारमा कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले २०८२ वैशाख मसान्तसम्म घरजग्गा क्षेत्रमा ३३ अर्ब ६८ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा आठ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बढी हो । २०८२ वैशाख मसान्तमा घरजग्गा क्षेत्रमा २५ अर्ब १६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गत वैशाख मसान्तसम्म महालक्ष्मी विकास बैंकले घरजग्गामा एक अर्ब ३३ करोड छ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । २०८१ वैशाख मसान्तमा एक अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकले गत वैशाखसम्म घरजग्गामा ७७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । २०८१ वैशखसम्म यस्तो कर्जा एक करोड ३० लाख ३० हजार रुपैयाँ थियो ।
क्षेत्रीयस्तरमा कारोबार सञ्चालन गरी हाल समस्याग्रस्त अवस्थामा रहेको कर्णाली डेभलपमेन्ट बैंकले घरजग्गा क्षेत्रमा गरेको लगानी १६ करोड रुपैयाँ छ । गत वर्षसम्म २६ करोड रुपैयाँ लगानी थियो । साँग्रिला र एक्सेल डेभलपमेन्ट बैंकले २०८२ वैशाख मसान्तसम्म क्रमशः तीन अर्ब २० करोड ४२ लाख ८० हजार र ४६ करोड ६० लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाखसम्म यी बैंकहरूले घरजग्गामा प्रवाह गरेको कर्जा रकम क्रमशः दुई अर्ब ७५ करोड १६ लाख ९० हजार र ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ थियो ।
२०८२ वैशाख मसान्तसम्म मितेरी, मुक्तिनाथ र गरिमा विकास बैंकले घरजग्गामा क्रमशः पाँच करोड ६६ लाख ५० हजार, आठ अर्ब ५७ करोड ७२ लाख ७० हजार र सात अर्ब ६५ करोड ४९ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन २०८१ वैशाख मसान्तसम्म क्रमशः सात करोड ६४ लाख रुपैयाँ, सात अर्ब ५६ करोड ८८ लाख ४० हजार र तीन अर्ब ८३ करोड ९४ लाख ८० हजार रुपैयाँ थियो । कामना सेवा र ज्योति विकास बैंकले २०८२ वैशाख मसान्तसम्म घरजग्गामा क्रमशः एक अर्ब ९७ करोड ५५ लाख ८० हजार र ५५ करोड ११ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाख मसान्तसम्म यी दुई बैंकले क्रमशः एक अर्ब ७८ करोड ७३ लाख १० हजार र ८२ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेका थिए ।
साइन रेसुंगा, लुम्बिनी र सिन्धु विकास बैंकले पनि २०८२ वैशाख मसान्तसम्म घरजग्गा क्षेत्रमा क्रमशः चार अर्ब ७१ करोड ३९ लाख ३० हजार, चार अर्ब २९ करोड ९७ लाख ४० हजार र पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाख मसान्न्तसम्म यी बैंकहरूको यस्तो कर्जा रकम क्रमशः एक अर्ब ७० करोड ९८ लाख ४० हजार, चार अर्ब १० करोड ९० लाख र तीन करोड १९ लाख ६० हजार रुपैयाँ थियो ।
सप्तकोशी र ग्रिन डेभलपमेन्ट बैंकले पनि २०८२ वैशाख मसान्तसम्म घरजग्गामा क्रमशः २६ करोड ५२ लाख ८० हजार रुपैयाँ र २७ करोड ३१ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाखसम्म क्रमशः १८ करोड ८५ लाख रुपैयाँ र २१ करोड ७५ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । क्षेत्रीयस्तरको कर्पोरेट र साल्पा विकास बैंकमा भने घरजग्गा कर्जा पछिल्लो दुई आर्थिक वर्षमा नै शून्य देखिएको छ ।