पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालय संस्थाको आयोजनामा मंगलबार ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्दै कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् ।
प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने जनाउँदै अध्यक्ष दाहालले संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि नबढेको बताए ।
दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राखे । उनले घरेलु श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न आफू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।