कोषी । कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकले ंमंगलबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक प्रतिवेदन अनुसार २०८१ असारको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा रहेका उद्योगहरूमा बैंकहरूले प्रवाह गरेको कर्जा पाँच दशमलव छ प्रतिशतले बढेर एक खर्ब ४७ अर्ब ४७ करोड पुगेको छ । २०८१ असार मसान्तमा यस्तो कर्जा एक खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो ।
कोशी प्रदेशका विद्युत, ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा सबैभन्दा धेरै १४ दशमलव चार प्रतिशत कर्जा वृद्धि भएको छ । यस्तै खानी सम्बन्धी क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी १६ दशमलव एक प्रतिशतले घटेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा ठुलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ५३ दशमलव चार प्रतिशत र सबैभन्दा कम खानी सम्बन्धी उद्योगको शून्य दशमलव चार प्रतिशत छ ।
प्रतिवेदनअनुसार २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव शून्य दुई प्रतिशतले घटेर ५६ अर्ब ९० करोड रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ८५ अर्ब बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश नौ दशमलव सात प्रतिशत छ । २०८१ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० दशमलव आठ प्रतिशत थियो ।
प्रतिवेदनअनुसार २०८१ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरूमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव छ प्रतिशत छ । यसैगरी, २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १९ अर्ब ४२ करोड अर्थात ३४ दशमलव एक प्रतिशत र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम ३५ करोड ३९ लाख रुपैंयाँ अर्थात शुन्य दशमलव छ प्रतिशत रहेको छ ।
२०८० पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा शुन्य दशमलव नौ प्रतिशतले घटेको छ भने सो अवधिमा जिल्लागत रुपमा सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी २५ दशमलव आठ प्रतिशतले कृषि बढेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी १५ दशमलव दुई प्रतिशतले कृषि कर्जा घटेको छ ।प्रतिवेदनअनुसार २०८१ पुस मसान्तसम्म कोशी प्रदेशमा वाणिज्य बैंकका सात सय ६२, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५३ गरी जम्मा एक हजार आठ सय ४५ वटा शाखाहरू छन् । यस मध्ये मोरङ जिल्लामा सबैभन्दा बढी चार सय ५० शाखा र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम ३९ शाखा छन ।
त्यसैगरी, झापामा तीन सय ५०, सुनसरीमा तीन सय ३५, उदयपुरमा एक सय १५, इलाममा ९७, धनकुटामा ८४, पाँचथरमा ६८, संखुवासभामा ६०, भोजपुरमा ५५, ओखलढुङ्गामा ५४, तेह्रभुममा ४९, खोटाङमा ४८ र सोलुखुम्बुमा ४२ वटा शाखा रहेका छन । २०८१ असार मसान्तसम्म कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल एक हजार आठ सय ३७ शाखाहरू थिए ।
२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन तीन दशमलव छ प्रतिशतले बढेर चार खर्ब ९२ अर्ब पुगेको छ । २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा यो प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा १२ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय रेमिटयान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ । २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १० दशमलव दुई प्रतिशतले कमी भई पाँच खर्ब ८६ अर्ब पुगेको छ ।
२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कुल कर्जा प्रवाहमा एक दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । २०८१ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा नौं दशमलव सात प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २५ दशमलव दुई प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५ दशमलव एक प्रतिशत छ । २०८१ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात (एक सय १९ प्रतिशत रहेको छ । अघिल्लो आवको पुस मसान्तमा उक्त अनुपात एक सय २१ दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।