काठमाडौं । देशमा सधैँ बजेट घाटा र व्यापार घाटाको स्थिति प्रकट हुनेगरेकै छ । विगत १० वर्षमा नौवटा सरकार बने । यी सरकारको प्रमुखमा भने आलोपालो गर्दै तीन दलका नेताहरू नै आए । यो अवस्था विद्यमान नै छ । यो समयमा देशले दुई तिहाइको सरकार पनि पायो, त्यो पनि दुई÷दुई पटक । नयाँ संविधान जारी भएपछि अहिले चलिरहेको सरकार संसद्को दोस्रो कार्यकालको हो । यो सरकार यो कालको दोस्रो हो । यो कालमा चलेका यी दुई सरकार दुई तिहाइका नै थिए । पछिल्लो समय त संसद्का दुई ठूला दलको गठबन्धन छ । संसद्को पहिलो कार्यकालमा त दुईवटा दलको गठबन्धन बनेर चुनावमै दुई तिहाइको सरकारको माग भएको थियो, जो मतदाताले त्यसलाई पूरा पनि गदिए । तर त्यो सरकारले पनि हरेक क्षेत्रमा घाटा परिरहेको अवस्थामा सुधार ल्याउन सकेको देखिएन । बजेट घाटा र व्यापार घाटाको स्थिति यसरी सधैँ प्रकट भइरहेकै छ । यसले देशकै नियति नै यस्तै रहेछ कि भन्ने पर्न थालेको छ ।
व्यापार घाटामा चालू आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिने अवस्थाले केही सुधार हुन थालेको देखाएको थियो । यी दिन निर्यात व्यापारको अंक बढिरहेको दृश्यहरूले घाटा पूर्तिका लागि सकारात्मक संकेत दिएकै हो । तर आयात १४ खर्ब हुँदा निर्यातको अवस्था भने दुई खर्बमा पुग्दा पनि खुशी हुनुपर्ने स्थिति व्यापार सन्तुलनका लागि ठीकै मानिँदै आइएको हो । पछिल्लो समय यसमा झनै खराब अवस्था प्रकट हुँदैछ, जो दुःखद र तत्कालै केही गरिहाल्नुपर्ने स्थिति बुझाउँछ । यो समयमा जुन वस्तुले निर्यातको मात्रा बढाएको भनिएको छ त्यो वस्तु यतिबेला निर्यातभन्दा बढी आयात भएको देखियो । त्यसको उदाहरणमा खाने तेल पर्छ । चालू वर्ष गत वर्षको तुलनामा एक खर्बभन्दा बढी निर्यात भएको विवरण आइरहँदा जुन वस्तुले निर्यातको इज्जत धानेको थियो त्यो वस्तु खाने तेल निर्यातभन्दा त्यसका कच्चापदार्थ आयात बढी भएका देखियो । खाने तेल निर्यातको प्रमुख बजार हो छिमेकी देश भारत । भारतले केहीअघि मात्र खाने तेल आयातमा सहज बनाएको थियो । त्यसअघि नेपालले मात्र पाउँदै आएको त्यस्तो सुविधा सबैतिर समानरूपले लागू भएपछि त्यसको प्रभाव पर्ने भयो नै ।
भन्सार विभागको विवरणअनुसार चालू आवमा कुल एक खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खाने तेल आयात भएकोमा यही अवधिमा एक खर्ब सात अर्ब ४९ करोड ९६ लाख ३९ हजार रुपैयाँको तेलजन्य सामग्री निर्यात भयो । यो भनेको आयातको तुलनामा निर्यात करिब २८ अर्बले कम हो । यसले नेपालको निर्यात व्यापार अस्वाभाविकतर्फ अघि बढिरहेको बुझाउँछ । भटमास, माछा जैतुनलगायतका गरेर कुल एक खर्ब ३५ अर्ब ६२ करोड १३ लाख ८१ हजार रुपैयाँको खाने तेल आयात हुँदा मात्रा जे–जति होस् यो वस्तुमा आयातभन्दा निर्यात घटेको छ । यो संकेत राम्रो होइन । पहिलेदेखि नै तेलका कच्चपदार्थ बाहिरबाट ल्याएर तयारी वस्तु निर्यात गर्दा बढेको जस्तो देखिएको निर्यात व्यापार स्थायी नहुन सक्तछ भनेर पहिलेदेखि नै सतर्क रहन सुझाव आउने गर्दथ्यो । अहिले त्यो यथार्थमा परिणत हुन थालेका विवरण प्रकट हुँदैछन् । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा नेपालबाट कुल एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको निर्यात भएकोमा चालू वर्षको यो समयसम्म दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रुपैयाँको कुल निर्यात भएको अवस्थाचाहिँ सकारात्मक संकेत हो ।