काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थ विशेषगरी तमाखु र गुट्खाको प्रयोग एक गम्भीर सामाजिक र स्वास्थ्य समस्या मात्र होइन, देशको अर्थतन्त्रमा ठूलो नोक्सानी, बारम्बार हुने र निरन्तर बढ्दो आर्थिक जोखिम र बोझ पनि हो । यसको व्यापक र दीर्घकालीन नकारात्मक असरले व्यक्ति, परिवार, समुदाय र राष्ट्रियस्तरमा ठूलो आर्थिक क्षति गर्छ । यस अर्थमा भन्ने नै हो भने देशमा सुर्तीजन्य पदार्थले सिर्जना गरेको बहुआयामिक आर्थिक जोखिमहरूको गहन विश्लेषण गर्ने प्रयास गरिएको छ । यसरी सुर्तीजन्य पदार्थको प्रयोगले ल्याउने रोगहरूको उपचार गर्न अत्यधिक खर्च लाग्छ । यसमा क्यान्सर (फोक्सो, मुख, घाँटी, आदि), हृदयघात, मस्तिष्कघात, क्रोनिक फोक्सो रोग (सीओपीडी), मधुमेह, दाँत र मुखको रोगहरूको उपचार लामो, जटिल र महँगो पनि हुन्छ । जसमा भन्ने नै हो भने कीमोथेरापी, रेडियोथेरापी, सर्जरी, दीर्घकालीन औषधि र अस्पतालमा बस्ने खर्चले व्यक्ति र परिवारलाई आर्थिकरूपमा ध्वस्त पार्न सक्छ । फलतः धेरैजसो रोगी अन्तिम अवस्थामा सरकारी अस्पतालहरूमा पुग्छन् । जहाँ उपचारको जिम्मेवारी राज्यले बोक्नुपर्छ । यसले सीमित सरकारी स्वास्थ्य बजेटलाई झन् तनावपूर्ण बनाउँछ, अन्य आवश्यक स्वास्थ्य सेवाहरू (टीकाकरण, प्रसूति सेवा, संक्रामक रोग नियन्त्रण)लाई पनि प्रभावित गर्छ । तसर्थ निजी अस्पतालमा पनि यी रोगको उपचारले ठूलो आर्थिक बोझ सिर्जना गर्छ ।
देशमा सुर्तीजन्य पदार्थको प्रयोग व्यापक देखिन्छ । जसमा भन्ने नै हो भने ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म, किशोरदेखि वृद्धसम्म यसको पहुँच छ । वस्तुतः राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षणअनुसार, एक तिहाइभन्दा बढी पुरुषले कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरिरहेका छन् । यसको साथसाथै महिलाहरूमा पनि यसको प्रयोग बढ्दो अवस्थामा रहेको छ । यसरी देशमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने खास उमेर समूहलाई नियाल्ने हो भने १५ वर्ष देखि ३० वर्षका उमेर समूहमा प्रयोग उच्च रहेको देखिन्छ । हाल नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने २८ प्रतिशत जनसंख्यामा १७ प्रतिशत युवावर्ग नै रहेको तथ्यांकले देखाएको छ । यसमा पनि रेस्टुरेन्ट र क्याफेहरूमा भने झनै भेप र हुक्काको प्रयोग फेसनको रूपमा बढ्दो रुपमा रहेकोछ । जसमा अझ बढी खतरनाक रसायनहरू रहेको सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । फलतः देशमा सुर्तीजन्य पदार्थको सेवन एउटा गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो । जसले व्यक्ति, परिवार र राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो धनजनको क्षति पुर्याइरहेको छ । जसमा चुरोट, बिँडी, तमाखु, गुट्खा, खैनीजस्ता पदार्थको बढ्दो प्रयोगले लाखौँ मानिसलाई नसर्ने रोगहरूको दलदलमा फसाइरहेको छ भने यसले स्वास्थ्य सेवामाथि अत्यधिक भार र उत्पादकत्वमा ह्रास ल्याई देशको समग्र विकास प्रक्रियालाई नै सुस्त बनाइरहेको छ । वस्तुतः राष्ट्रमा सुर्तीजन्य पदार्थको सेवनले ठूलो धनजनको स्वास्थ्य जोखिम निम्त्याइरहेको छ । यसले क्यान्सर, मुटु रोग, श्वासप्रश्वास रोगलगायतका गम्भीर रोगहरूको जोखिम बढाउँछ र वार्षिक हजारौँ जनाको मृत्युको कारण बनेको छ । जसमा भन्ने नै हो भने आर्थिकरूपमा पनि यसले देशलाई ठूलो घाटा पुर्याइरहेको छ । त्यसैले, सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कडा नीति, कर वृद्धि, जनचेतना अभिवृद्धि र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा सार्वजनिक स्वास्थ्य, सामाजिक संरचना र आर्थिक क्षतिहरूको मूल जडमध्येको एक हो सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग हो । यसमा पनि सुर्तीजन्य पदार्थहरूको सेवन केवल व्यक्तिगत स्वास्थ्यको क्षतिमा मात्र सीमित नरही, राज्यको सम्पूर्ण आर्थिक प्रणाली, सामाजिक स्वास्थ्य र मानव संसाधनको उत्पादकत्वमा समेत गहिरो प्रभाव पार्ने गरेको छ । हरेक वर्ष नेपालमा सुर्तीजन्य पदार्थका कारण हजारौँ मानिसहरू समयअगावै मृत्यु हुन्छन् भने लाखौँ मानिसहरू दीर्घकालीन रोगको चपेटामा पर्छन् । यसबाट हुने धनजनको क्षति अकल्पनीय छ । तसर्थ राष्ट्रमा सुर्तीजन्य पदार्थहरू प्रायः दुई प्रकारका हुन्छन् । यसमा एउटा धुवाँयुक्त चुरोट, बिँडी आदि र अर्को धुवाँरहितमा गुट्खा, खैनी, चिउरे सुपारी, पानपराग, टोबाको मसला आदि रहेका छन् । यी पदार्थहरू महिला, पुरुष, किशोर–किशोरीहरू सबैमा फैलिँदै दिनप्रतिदिन फैलिँदै गएको पाइन्छ । जुन समयसममा निकालिएको तथ्यांकहरूलाई अवलम्बन गर्ने हो भने पनि चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ । यसमा पछिल्लो समयमा नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो । सो परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने अनुमान गरेको छ । यो खर्च कुल गार्हस्थ्य उत्पादनको १ दशमलव शून्य ४ प्रतिशत आर्थिक क्षति हो । जसमा धुवाँरहित सुर्तीजन्य पदार्थको लागत जोड्ने हो भने खर्च अझ थपिने परिषद्ले जनाएको छ । जो सुर्तीजन्य पदार्थका कारण मृत्युको दोस्रो जोखिममा रहेका विश्वका १५ प्रतिशत देशमा नेपाल २३औँ स्थानमा पर्छ । यो तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार पाँच सय २९ जना अर्थात् प्रतिघन्टा ४ जनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन् । यो संख्या नेपालको कुल मृत्युको १९ दशमलव ४९ प्रतिशत हो । जसलाई भन्ने नै हो भने छिमेकी देशहरूसँग तुलना गर्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्यु दोस्रो जोखिम कारक हो । यसमा भने पहिलो कारकमा वायु प्रदूषण पर्छ ।
हाम्रो देशमा सुर्तीजन्य पदार्थको सेवनले निम्त्याएको धनजनको जोखिम बहुआयामिक र जटिल छ । यसले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवारको आर्थिक अवस्था, सामाजिक संरचना र राष्ट्रिय विकासमा समेत गम्भीर असर पु¥याएको छ । जसमा भन्ने नै हो भने सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगहरूको बढ्दो भारले स्वास्थ्य सेवा प्रणालीलाई थप दबाब दिएको छ भने उत्पादकत्वमा आएको ह्रासले राष्ट्रिय अर्थतन्त्रलाई कमजोर बनाएको छ । यस भयावह अवस्थाबाट पार पाउनका लागि सरकार, नागरिक समाज, स्वास्थ्यकर्मी, शिक्षाविद् र सञ्चार माध्यम सबैको संयुक्त प्रयास आवश्यक छ । जसले गर्दा कठोर नीतिगत सुधार, कानुनको प्रभावकारी कार्यान्वयन, व्यापक जनचेतना र धुम्रपान छोड्न प्रोत्साहनका कार्यक्रमहरूलाई प्राथमिकता दिनु अपरिहार्य पनि छ । यदि समयमै यस समस्यालाई गम्भीरतापूर्वक लिएर ठोस कदम चाल्न सकेनौँ भने यसले मुलुकको भावी पुस्ताको स्वास्थ्य र समृद्धिलाई गम्भीर जोखिममा पार्नेछ । देशमा सुर्तीमुक्त समाजको परिकल्पनालाई साकार पार्नका लागि आजैबाट सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ । फलतः स्वस्थ र समृद्ध नेपाल निर्माणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण एउटा महत्वपूर्ण आधारशीला पनि हो ।
समग्रमा भन्नुपर्दा हाम्रो देशमा सुर्तीजन्य पदार्थको प्रयोग केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र नभएर, यो देशको आर्थिक अंगभित्रै एक विशाल घाउको रूपमा रहेको छ । यसले प्रत्यक्षरूपमा ठूलो स्वास्थ्यसम्बन्धी खर्च थपिरहेको छ । जसले गर्दा उत्पादकत्वलाई झन् कमजोर पारिरहेको छ । यसले गरिबीको चक्रलाई बलियो बनाइरहेको छ, राजस्व गुमाइरहेको छ र देशको भविष्यको जनशक्ति युवालाई क्षति पु¥याइरहेको छ । यो आर्थिक बोझ अहिले नै ठूलो छ र यदि कडा नीतिगत हस्तक्षेप गरिएन भने भविष्यमा यो झन् असहनीय हुनेछ । यस किसिमको सुर्तीजन्य पदार्थको माग घटाउने, प्रयोगकर्ताहरूलाई छोड्न प्रोत्साहन दिने र युवाहरूलाई यसको जालमा नपर्न दिने उपायहरू अपनाउनु नै दीर्घकालीन आर्थिक लाभको मार्ग पनि हो । यसमा सरकारको सक्रिय नीति र नियमन, नागरिक समाजको जागरूकता, स्वास्थ्य संस्थाहरूको प्रयास र प्रत्येक नागरिकको व्यक्तिगत जिम्मेवारी समावेश छ । अतः सुर्तीजन्य पदार्थबाट मुक्त नेपाल निकै स्वस्थ, उत्पादक र आर्थिकरूपमा सबल नेपाल हुनेछ । यो केवल स्वास्थ्यको माग होइन, अर्थतन्त्रको आवश्यकता पनि हो । यसलाई समयमै कडाभन्दा कडा कदम चालिएन भने भविष्यमा गएर यसले ठूलो विनाशकारी रुप धारण गर्नेछ । मूलतः सुर्तीजन्य पदार्थको प्रयोगले मुलुकको स्वास्थ्य प्रणाली, सामाजिक संरचना र आर्थिक समृद्धिमा गम्भीर असर पुर्याइरहेको छ । जसले गर्दा आज यो समस्या केवल व्यक्तिगत रुचिको विषय नभई राष्ट्रिय चिन्ताको विषय बनेको छ । जसलाई बेलैमा सचेतना भई कानुनी कडाइ, जनचेतना, वैकल्पिक उपाय र सशक्त निगरानी प्रणालीविना यो समस्या नियन्त्रणमा आउन सक्दैन ।