काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूका लागि आयोजित एएमएल/सीएफटीसम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
दुई दिनसम्म भएको कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विद्यमान ऐन, नियम, प्राधिकरणबाट जारी भएका निर्देशिका एवं निर्देशनहरू, सम्पत्ति शुद्धीकरणविरूद्ध एफएटीएफले तय गरेका मापदण्डलगायत सम्पत्ति शुद्धीकरणविरूद्ध अवलम्बन गर्नुपर्ने उपायलगायत समग्र विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।
कार्यक्रम समापन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूले सम्पत्ति शुद्धीकरण निवारणका लागि आन्तरिकरूपमा तालिमहरू आयोजना गरी शाखा तथा उपशाखा कार्यालयका कर्मचारीहरूलाई समेत सम्पत्ति शुद्धीकरणविरूद्ध जागरुक गराउनुपर्ने बताए । सम्पत्ति शुद्धीकरणविरुद्ध रोकथामका उपायहरू अवलम्बन गर्न बीमा कम्पनीहरू केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरूको जोखिमाङ्कन ठीक हुनुपर्छ, एउटाले जोखिम देख्ने अर्कोले नदेख्ने हुन सक्दैन, जोखिमलाई सबैले जोखिम नै देखे अस्वस्थ प्रतिस्पर्धा पनि हुँदैन, यसबाट दीर्घकालमा बीमा क्षेत्रलाई नै सहयोग पुग्छ ।’
शङ्कास्पद जोखिम पहिचान भएमा त्यसका बारेमा शीघ्रतापूर्वक सम्बन्धित निकायलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष ओझाले भने, ‘बीमा क्षेत्रमा अवैध रकम छिर्नबाट रोक्न तल्लो तहदेखि नै सकारात्मक प्रयास गरौँ, कर्मचारीहरूलाई जोखिम पहिचान गर्न सक्षम बनाऔँ, सम्पत्ति शुद्धीकरणविरूद्ध सामूहिकरूपले लागौँ, यसबाट बीमा क्षेत्रलाई सुव्यवस्थित बनाउन सहयोग पुग्छ ।’
त्यस अवसरमा अध्यक्ष ओझाले कार्यक्रमका सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले कार्यक्रममा सिकेका ज्ञानलाई कार्यस्थलमा उपयोग गर्न सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका गरी ४७ जना एएमएल÷सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।