काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ । सो कार्यक्रममा नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी समेत गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष सञ्जय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै साझा व्यापारिक हितको प्रवद्र्धनमा आफूहरूको प्रतिबद्धता दोहोर्याएका थिए । कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डे तथा संघका बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए । नुगारीले दीर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिएका थिए ।