काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवद्र्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् । महासंघका अध्यक्ष ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो अनिल सुकलालसँग भएको भेटवार्तामा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी प्रवद्र्धन गर्न सहयोग गरिदिन आग्रह गरेका हुन् । यसैगरी उनले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने स्पष्ट सम्भावना रहेको बताए ।
नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिकरूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको बताए । उनले भने, ‘नेपालको भौगोलिक विशेषता यस्तो छ जहाँ एक घण्टाभित्रमै तल्लो तराईबाट उचाइयुक्त रमणीय पहाडी स्थलमा पुग्न सकिन्छ, यसैले नेपाल रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजमजस्ता पूर्वाधारमा लगानीका लागि निकै उपयुक्त गन्तव्य हो ।’ साथै उनले महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार जानकारीको आदान–प्रदान तथा आवश्यक सहजीकरण गर्न सधैँ तत्पर रहेको प्रतिबद्धता जनाए ।
अध्यक्ष ढकालले महासंघको सक्रियतामा नेपाल सरकारले हालै लगानीसँग सम्बन्धित विभिन्न ३० वटा कानुन संशोधन गरेको जानकारी दिँदै ती सुधारले वैदेशिक लगानी प्रक्रिया सरल बनाउनुका साथै नाफा फिर्ता लैजान सजिलो बनाएको उल्लेख गरे । महासंघकै पहलमा द्विपक्षीय लगानी सम्झौताको खाका सरकारले स्वीकृत गरेको उल्लेख गर्दै उनले यसले विदेशी लगानीकर्तालाई अझ विश्वासिलो वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा राजदूत प्रो अनिल सुकलालले दक्षिण अफ्रिका र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका थिए । उनले विशेष गरेर पर्यटन क्षेत्रमा दुवै देशबीच सहयोगको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
उनले भने, ‘पर्यटन यस्तो क्षेत्र हो, जहाँ दक्षिण अफ्रिका र नेपालले सहकार्य गरेर उल्लेखनीय काम गर्न सक्छौँ, दक्षिण अफ्रिकाको वन्यजन्तु पर्यटनजस्तै नेपालको भू–परिवेश, जैविक विविधता र सांस्कृतिक सम्पदा पनि विशिष्ट छन्, हामीले हातेमालो गरेर दुवै देशको पर्यटन प्रवर्द्धन गर्नुपर्छ ।’ हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ भने नेपालबाट निर्यात हुने वस्तुमा कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री पर्छन् । यो भेटवार्ताले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।