क्वालालम्पुर । मलेसियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी दर) घटेर एक दशमलव दुई प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा न्यून दर भएको सरकारी तथ्यांकले देखाएको छ ।
मलेसियाको तथ्यांक विभागका अनुसार, महँगीको यो कमीको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो । तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको बुझिएको छ ।
उत्पादन लागत घटेको संकेत स्थानीय उत्पादन मूल्य सूचकांक (पीपीआई)मा पनि देखिएको छ, जुन चालू वर्षको अप्रिल महिनामा तीन दशमलव चार प्रतिशतले ऋणात्मक रहेको थियो । यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७ दशमलव आठ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा महत्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ । यो समूहको मूल्य वृद्धि मे महिनामा दुई दशमलव एक प्रतिशतमा सीमित भएको हो ।
यद्यपि, मासिकरूपमा हेर्दा भने एप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर शून्य दशमलव एक प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । समग्रमा हेर्दा मलेसियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेको देखिन्छ, जुन उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक संकेत मानिएको छ । मूल्यवृद्धिमा आएको कमीले जनताको दैनिक जीवनमा सहजता ल्याउने आशा गरिएको छ । रासस/सिन्ह्वा