काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहलाई एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्थाअनुसार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । यही असार ५ गते भएको ३७औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसहमतिबाट पुनर्निर्वाचित भएकी हुन् ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षले सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । सिंहले शपथग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणको अध्यक्षलाई आफ्नो र सञ्चालक समितिको तर्फबाट आभार व्यक्त गरिन् । समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशीलदेव सुवेदी र नेसनल लाइफ इन्स्योरेन्सको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति थियो ।