जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा गरेका छन् । यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ ।
मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल सम्बद्ध कम्पनीलाई आतंकवादी संगठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गरेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इरानविरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतंकवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गरेको र यसले मध्यपूर्वभर आतंकवादलाई वित्त पोषण, हतियार र निर्देशन दिएको आरोप इजरायलको छ ।
लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मंगलबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए । दुई पक्ष दशकौँ देखि छाया युद्धमा फसेका छन् । इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ ।
इजरायलले जुन १३ मा सुरु भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । आणविक हतियार प्राप्त गर्ने महत्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ ।