काठमाडौं । संसद्को चौथो ठूलो दलको हैसियतमा रहेको दल एउटा फौजदारी अभियोगमा केवल पुर्पक्षका लागि केही दिन थुनामा बस्नुपर्ने अवस्थाबाट ठूलो अन्यायमा परेको भनेर अदालतका फैसलाविरुद्ध देशैभर हस्ताक्षर अभियानमा उत्रिएको छ ।जिल्ला अदालतले धरौटीमा छाडेको अवस्थामा साधारण तारेख माग गर्दै केही पहिले रवि आफैँले निवेदन दिएका थिए । त्यसमा भने थुनामा बस्नुपर्ने आदेश आयोे । उच्च र सर्वोच्च दुई तहका अदालतबाट भएका यस्तो आदेश आफ्ना लागि अमान्य भएकोजस्तो हुने गरी यो हस्ताक्षरका लागि अभियोगी स्वयंले कारागारबाटै आफूमाथि अन्याय भएको भन्दै अपिल जारी गरेका छन् ।
जारी भएको यो अपिलमा आफ्नो कसुरको आफैँले व्याख्या गर्न कोसिस गरिएको छ । तीन तहका अदालतले नै कानुनको गलत व्याख्या गरेको भन्ने बुझाउन खोजिएको छ । अहिले रास्वपा यो अपिल बोकेर न्याय पाउँ भन्दै घरदैलो अभियानमा गइरहेको छ ।यता अदालतको अवस्था भने सुरु अदालतले जसरी बेकसुर छन् भन्ने आधार नभएको भनेर आदेश सुनाएको थियो । उच्च र सर्वोच्चबाट पनि त्यही कुरा दोहोरियो । फरक कति भने जिल्लाले एक करोड धरौटी मागेको थियो भने उच्चले पूर्पक्षका लागि थुनामा पठायो । त्यसपछि उनी सर्वोच्च पुगे । त्यहाँ गरिएको पुनरावेदनमा पनि सर्वोच्चले उच्चकै आदेशलाई सदर गरिदियो । भएको यति मात्र हो ।
त्यसपछि रविले आफ्नो दललाई आफ्नो न्यायका लागि भन्दै एउटा अपिल बोकाउँदै सडकमा उतारे । त्यसमा उनले आफूमाथि निरन्तर सोधिने गरिएका प्रश्न र त्यसको जवाफ पनि उनले नै तयार पारेका हुन् ।यही सन्दर्भमा रविको प्रश्नोत्तरको ढाँचाको अपिल र अदालतको आदेशका केही अंश यहाँ प्रस्तुत गरिएको छ, जसमा मिसिलमा देखिएकोभन्दा धेरै ठाउँमा झूटो दाबी गरेजस्तो देखिन्छ ।
रविको अपिल
१. आफू एमडी र सेयर धनी भएको कम्पनीमा कहाँबाट पैसा आयो भन्ने कुरा थाहा छैन भन्न मिल्छ ?
मैले थाहा छैन भनेको होइन, यो त मिडियाले भनेका हुन् । मैले त जीवी राईले कहाँबाट ल्याए त्योचाहिँ थाहा छैन भनेको हुँ । गोर्खा मिडियाको आधिकारिक रेकर्डमा त्यहाँ आएको पैसा जीवी राईले दिएको सर्टट्रम लोन भनिएको छ । आधिकारिक अडिट रिपोर्टमा पनि त्यही उल्लेख छ ।
२. कम्पनीको जिम्मेवार व्यक्ति भएपछि कम्पनीमा आएको पैसाको जिम्मा लिनुपर्दैन ?
लिनुपर्छ । त्यसैले संसदीय छानबिन समितिले भनेअनुसार कम्पनीमा आइसकेपछि सो पैसाको खर्च र परिचालनमा जिम्मेवार र जवाफदेही भनेकै छु । सहकारीमा भएका कारोबार र क्रियाकलापमा म कसरी जिम्मेवार हुने ?
३. सहकारीबाट सोझै पैसा आएको छ रे, होइन ?
कुनै पनि सहकारीबाट मेरो खातामा एक पैसा पनि आएको छैन । म कुनै सहकारीको सदस्य, सेयर धनी, ऋणी, कर्मचारी केही पनि होइन ।
४. कम्पनीको एमडी सेयर धनी हुनुअघि नै कम्पनीमा तपाईंंसहित तीन जनाको नाममा खाता खुलेको छ रे, हो ?
जीबी राई र छविलाल जोशीले गरेको सम्झौताबमोजिम म न्युज–२४ छोडी उनीहरूसँग सहकार्यमा आउँछु भन्ने सुनिश्चितताका लागि गोर्खा मिडियाको खाता खोलिएको हो, अन्य खाता होइन । सम्झौताअघि कुनै किसिमको कारोबार भएको छैन । सहकारीसँग त मेरो कुनै हिसाब–किताब र लेनदेन छँदै छैन ।
५. कम्पनी छोडिसकेपछि पनि सही गरेका चेकहरू छन् रे त ?सही गरेका सबै चेकहरू सही गरेकै दिनमा साटिँदैनन् । कतिपय चेकमा दुईचार महिना पछाडिको मिति राखेर दिइन्छ । मेरै दुई महिनाको तलब बाँकी थियो । कम्पनी छोड्ने बेलामा चेक लिएको थिएँ, पछि खातामा पैसा भएको जानकारी पाएपछि भुक्तानी लिएँ । निजी क्षेत्रमा यो प्रचलित अभ्यास हो ।
६. तपाईंकै हस्ताक्षर भएका चेकमार्फत सहकारीमा भुक्तानी भएको रहेछ नि ?मसँग भएको लिखित सम्झौताअनुसार कुनै पनि आर्थिक मामलामा मेरो हस्तक्षेप हुन सक्दैनथ्यो । मेरो क्षेत्राधिकार समाचार र कार्यक्रममा मात्र सीमित थियो । छविलाल जोशी देशबाहिर र जीवी राई निरन्तर यात्रामा रहने भएकाले हस्ताक्षर नगर्ने विकल्प मसँग थिएन । कार्य सहजताका लागि खाली चेकमा समेत हस्ताक्षर गरिन्थ्यो । सम्पूर्ण लगानी ल्याउने मान्छेलाई कुन चेक कसलाई किन दिएको भनेर प्रश्न सोध्ने मेरो नैतिक हैसियत थिएन । कुनै विवाद वा उजुरी नभएका कारण सोध्नुपर्ने आवश्यकता पनि भएन ।
७. सहकारीले निजी क्षेत्रमा लगानी गर्न पाउँदैन भन्ने कुरा तपाईंजत्तिको मान्छेलाई थाहा हुनुपर्दैन ?
मेरो कार्यकालमा बोर्ड बैठकबाट कुनै पनि सहकारीसँग ऋण लिने निर्णय वा सम्झौता भएको छैन । कुनै पनि सहकारीले बक्यौता वा किस्ता तिर्न सूचना र जानकारी पनि दिएको छैन । कम्पनीमा पैसा ल्याउने र बिलविजकबमोजिम तिर्ने सम्पूर्ण कार्य जीबी राईको प्रत्यक्ष निगरानीमा उनका विश्वास पात्रहरूबाट मात्रै हुन्थ्यो । म कार्य सहजताका लागि हस्ताक्षरकर्ता मात्रै थिएँ, लगानीकर्ता होइन ।
८. तपाईंको नाममा गाडी छन् रे, सहकारीको सिस्टममा तपाईंको नाममा लोन छ रे नि ?
मैले काहीँ पनि ऋण लिएको छैन । मेरो नाममा कुनै सवारीसाधन पनि छैन । मैले लिएको भनिएका ऋणहरू सहकारीले आफैँले मेरो नाम राखी खडा गरेका हुन् । मलगायत सयौँ मान्छेको नाममा यस्ता फर्जी खाता खोलिएका रहेछन् । जीसीएस सिस्टम भनेको उनीहरूको आफ्नै सिस्टम हो । अर्को पक्षको उपस्थिति, संलग्नता र हस्ताक्षरविना आफैँले एक पक्षीयरूपमा जो कोहीको नाम इन्ट्री गर्न सकिने सिस्टममा जसले जे इन्ट्री गरे पनि हुन्छ । आफ्नो डायरीमा आफैँ लेखेर आफैँले राख्ने कुराजस्तै हो । मेरो उपस्थिति कतै छैन । कतै मेरो निवेदन छैन, हस्ताक्षर छैन । सबै फर्जी हुन् ।
९. सहकारीबाट पैसा ल्याउने र टिभी खोल्ने सम्पूर्ण योजना तपाईंको र जीवी राईको हो रे भनेर छविलाल जोशीको बयान भन्दै मिडियामा आयो, के हो ?
न यो कुरा सत्य हो, न छविलालले बयानमा यस्तो भनेका नै छन् । यो मिडियामा मात्रै आएको कुरा हो ।
अदालतको आदेश
१. यसमा निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशी समेतले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम गैरकानुनीरूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगी सहकारी ऐन, २०७४ को दफा १२२ को खण्ड (ख), (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (त) अन्तर्गतको निषेधित कार्य गरी सहकारी संस्थाको १०,९९,३६,०००।– (दश करोड उनान्सय लाख छत्तीस हजार रुपैयाँ) ठगी गरेकाले उक्त रकम बिगो कायम गरी प्रतिवादीहरूलाई सो ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (घ) को देहाय (५) बमोजिम सजाय गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को देहाय (क) र (ग) बमोजिम थप सजाय गरी पाऊँ भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग दाबी लिएको देखिन्छ ।
२. अब यी निवेदक प्रतिवादीहरूलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने हो वा होइन भन्ने सम्बन्धमा हेर्दा यी प्रतिवादीहरू समेतको मिलेमतो र योजनामा सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (यसपछि सहकारी संस्था भनिएको) बाट गोर्खा मिडिया नेटवर्क प्रालि (यसपछि कम्पनी भनिएको)मा गैरकानुनीरूपमा रकम लगी सहकारी ठगी तथा संगठित अपराध गरेकाले कानुनबमोजिम कारबाही गरी पाऊँ भनी किटानी जाहेरी परेको देखिन्छ ।
३. निवेदक प्रतिवादी रवि लामिछानेका हकमा विचार गर्दा गोर्खा मिडिया नेटवर्क प्रालि मिति २०७७÷०५÷१० मा स्थापना भएकोमा सोही दिन उक्त कम्पनी र यी प्रतिवादीका बीचमा भएको समझदारीमा निज प्रतिवादी टिभी कार्यक्रमको सञ्चालकका रूपमा संलग्न हुने भनिए तापनि सोही समझदारीबाट निजले उक्त कम्पनीको १५ प्रतिशत सेयर धारण गर्ने व्यहोरा उल्लेख गरेको देखिँदा उक्त कम्पनीको व्यवस्थापनमा स्थापनाकालदेखि नै यी प्रतिवादीको संलग्नता भएको देखिन आयो ।
४. यी प्रतिवादी प्रबन्ध निर्देशक, सेयरधनी र सञ्चालकको हैसियतमा मिति २०७७÷०७÷०२ देखि मिति २०७९÷०३÷०१ सम्म उक्त कम्पनीमा रहेको देखिएकोमा सो अवधिमा उक्त कम्पनीमा सहकारी संस्थाबाट विभिन्न मितिमा पटकपटक गरी विभिन्न परिमाणमा रकम गएको देखिन्छ । सोमध्ये यी प्रतिवादी रवि लामिछानेको नाममा उक्त सहकारी संस्थाको ऋण खाता नं. ००१–००१–००५– ००००२२४ बाट दुई करोड रुपैयाँ कर्जा प्रवाह भएको तथ्यमा विवाद देखिँदैन ।
५. यी प्रतिवादीले उक्त कम्पनीमा र आफ्नो नाममा समेत सहकारी संस्थाबाट आएको रकमका बारेमा आफूलाई कुनै जानकारी नभएको भनी आरोपित कसुरमा इन्कार रही बयान गरेको भए तापनि निज प्रतिवादीको हस्ताक्षरबाट सन् २०२२÷०१÷०६ मा चेक नं. ००५०४७६३८३ मार्फत ४० लाख ९२ हजार रुपैयाँ सहकारी संस्थालाई भुक्तानी गरेको निस्सा मिसिल सामेल भएको देखिँदा उक्त सहकारी संस्थासँगको कर्जा कारोबारको बारेमा आफूलाई केही थाहा नभएको भन्ने प्रतिवादीको भनाइ खण्डित भएको देखियो ।
६. निवेदक प्रतिवादी रवि लामिछानेले आफू मिति २०७७÷०९÷३० मा मात्र कम्पनीमा प्रबन्ध निर्देशकको रूपमा नियुक्ति पाएकाले सो अगाडिको आर्थिक कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको भन्ने जिकिर लिएको भए पनि निजले कम्पनीमा प्रबन्ध निर्देशकको पदमा नियुक्ति पाउनुअगाडि नै मिति २०७७÷०७÷०२ को सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशकको हैसियतले उपस्थित भएको देखिएको र सो बैठकले ग्लोबल आईएमई बैंकको कालोपुल शाखामा खाता सञ्चालन गर्ने र सो खातामा गितेन्द्रबाबु राई, छविलाल जोशी वा रवि लामिछानेमध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गर्ने भनी निर्णय गरेको देखिन्छ । सोही निर्णयबमोजिम खोलिएको कम्पनीको खातामा सहकारी संस्थाबाट पटकपटक रकम आएको देखिँदा सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा यी निवेदक प्रबन्ध निर्देशक हुनुपूर्वदेखि नै संलग्न भएको देखिन आयो ।
७. निवेदक प्रतिवादी रवि लामिछानेको गोर्खा मिडियामा एक करोड ८० लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ । आफूले समझदारीको सर्तबमोजिम कम्पनीको १५ प्रतिशत सेयर निःशुल्क पाएको भन्ने निजको कथन देखिन्छ । मिति २०७७÷०५÷१० मा भएको उक्त समझदारीमा यी प्रतिवादीले निःशुल्क १५ प्रतिशत सेयर प्राप्त गर्ने सर्त उल्लेख भएको देखिए पनि निज स्वयंले प्रमाणित गरी आधिकारिक निकायमा पेस गरेको लगानी स्रोत फारममा ‘अन्य व्यवसायको आम्दानी, ऋण सापटी र पैत्रिक सम्पत्तिबाट’ एक करोड ८० लाख रुपैयाँको सेयर लगानी गरेको भन्ने व्यहोरा उल्लेख भएको देखिन आएबाट निःशुल्क सेयर प्राप्त गरेको भन्ने निजको भनाइ मिसिल संलग्न प्रमाणबाट समर्थित भएको देखिएन । अपितु निज प्रतिवादीले सोही सेयर खरिद गर्न सहकारी संस्थाबाट कर्जा लिएको देखिन आउँछ । सो कर्जा लिँदा सहकारी ऐन, नियम र संस्थाको विनियमावलीलगायत प्रचलित कानुनबमोजिमको कुनै प्रक्रिया पूरा गरेको प्रथम दृष्टिमा नै देखिन आएन ।
साथै, यी प्रतिवादी रवि लामिछानेले मिति २०७९÷०३÷०१ मा उक्त कम्पनीबाट अलग भएको भनी जिकिर गरे पनि सो मितिपश्चात् समेत निजले कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिका चेकहरूमा हस्ताक्षर गरेको देखिएबाट उक्त कम्पनीमा निजको निरन्तर संलग्नता देखिन आयो ।८. यस प्रकार उक्त कम्पनीमा यी प्रतिवादी रवि लामिछानेको संलग्नता कर्मचारीको हैसियतमा मात्र नभई कम्पनी सञ्चालनमा सारभूतरूपमा प्रभाव पार्ने हैसियतको देखियो । यस स्थितिमा सहकारी संस्थाका अध्यक्ष एवं सहअभियुक्त ओमप्रकाश गुरुङ र कुमार रम्तेल समेतले यी प्रतिवादीको संलग्नतामा विभिन्न सहकारी संस्थाबाट रकम लिई टेलिभिजन कम्पनी खडा गरी सहकारीको रकम अपचलन गरेको भनी गरेको बयान, सह–प्रतिवादी छविलाल जोशीले कम्पनीको सम्पूर्ण आर्थिक कारोबारको जिम्मा जीबी राई र यी प्रतिवादी रवि लामिछानेको थियो भनी गरेको बयान तथा कम्पनीका लेखापाल सञ्जय अधिकारी, सहायक लेखापाल रजनी श्रेष्ठ एवं लेखापरीक्षक विशेषविभू आचार्यले गरेको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसुरदार रहेनछन् भनी विश्वास गर्न सकिने मनासिव आधार देखिन आएन ।