काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका लागि घुस लिएको विषयमा सरकारको मौन स्वीकृति देखिएको छ । बुधबार आर्थिक दैनिकमा समाचार सार्वजनिक भएपछि हालसम्म सरकारका कुनै पनि निकाय र स्वयं मन्त्री गुप्ताले प्रतिक्रिया दिएका छैनन् । मन्त्री र उनका आसेपासेहरूले यो विषयलाई भेटेरै सल्टाउने प्रयास मात्रै गरिरहेका छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेको यो मुद्दा अहिले छानबिनको विषय बनिसकेको छ ।
पोखरास्थित बाटुलेचौरको एक सय ३५ रोपनी सरकारी जग्गा छुट दर्ताको नाममा मालपोत कार्यालय कास्की, जिल्ला प्रशासन कार्यालय कास्की र भूमिसुधार मन्त्रालयको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास हुने गम्भीर घोटाला भइरहेको छ । सोही जग्गाको खेलोमेलो मिलाउनका लागि मालपोत कार्यालय कास्कीका हाकिम सरुवामा व्यापक चलखेल हुने गरेको छ । हाल मालपोत कार्यालय कास्कीको प्रमुख रहेका चिरञ्जीवी पौडेल अहिले रातारात यही जग्गा दर्ता गर्ने धन्दामा लागेको बताइएको छ ।
पौडेलले मालपोत कार्यालय कास्कीको प्रमुखमा सरुवा भएर आउँदा ७० लाख बुझाएको अडियो समेत फेला परेको छ । उनले ७० लाख कुन मन्त्रीलाई बुझाएका हुन् भन्ने खुलेको छैन । तर, सामान्य प्रशासनमन्त्री गुप्ता र भूमिसुधारमन्त्री बलराम अधिकारीकै जोडबलमा पौडेलको नियुक्ति मालपोत कार्यालय कास्कीमा भएको थियो ।
कास्कीको मालपोतबाट सरुवा भएका दुई सुब्बाको रमाना रोकेर नै पौडेलले छुट जग्गा दर्ताको खेलो गरिरहेका छन् । एक सय ३५ रोपनी जग्गा छुट दर्ताको नाममा हुने अवैध रकम उठाउने धन्दामा लागेका विचौलियाहरूले मन्त्री र सचिवलाई समेत रकम बाँढेका थिए । कतिपय राजनीतिक दलका नेताले समेत यो धन्दाबाट नजराना लिएको दाबी छ ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ समेत कर्मचारी सरुवाको काममा बिचौलियाको रूपमा प्रयोग भएको खुलेको छ । उनले प्रधानमन्त्रीलाई भेट्ने र तस्बिर सार्वजनिक गर्ने गरेर प्रभाव तथा पहुँच देखाउने गरेकी छन् । रञ्जिताले मन्त्री गुप्ता र अधिकारीलाई मालपोत कार्यालयको हाकिमहरूको लिस्ट नै बोकेर जाने गरेकी छन् । आर्थिक दैनिकले सार्वजनिक गरेको अडियोमा उनीले आफू साक्षीको रूपमा बसेको स्वीकार गरेकी छन् ।
मन्त्री गुप्ताले रकम लिँदा सम्बन्धित ठाउँमा अहिले नै लिएर जानुपर्छ भन्ने वाक्य समेत उच्चारण गरेका छन् । उनले भनेको सम्बन्धित ठाउँ कहाँ हो भन्ने अर्को रहस्य समेत खुलेको छैन । उनले सम्बन्धित ठाउँमा रकम बुझाएका कारण उनको तालुकदार निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नजरअन्दाज गरेको हो कि भन्ने आशंका समेत उब्जिएको छ ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख रुपैयाँ लिएको प्रमाण फेला परेको थियो । आर्थिक दैनिकमा मन्त्री गुप्ताले घुस लिएको अडियोसहित प्रमाणहरू पुगेको थाहा पाएपछि मन्त्री गुप्ताले लन्डन पुगेका घुस लेनदेन गरेका पीडितलाई नेपाल बोलाएर समाचार रोक्नको लागि प्रयोग गरेका थिए ।
समाचार रोक्न मन्त्री गुप्ताले परिचालन गरेको घुस लेनदेनका गिरोहहरूमा आर्थिक दैनिकमा समाचार प्रकाशित भएसँगै रुवाबासी चलेको छ । सामान्य प्रशासनमन्त्रीले घुस डिल गरेको अडियोमा बोल्ने महिला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भएको र उनले नाम लिएको बलराम भन्ने व्यक्ति हालका भूमिसुधारमन्त्री बलराम अधिकारी रहेकाले यसमा भूमिसुधारसँगै सामान्य प्रशासनमन्त्री तथा माथिल्लो तहका अन्य व्यक्तिहरू पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग मिलेर संगठितरूपमा बाटुलेचौरको एक सय ३५ रोपनी सरकारी जग्गा छुट दर्ताका नाममा लाखौँको बार्गेनिङमा लागेको अख्तियारमा परेको अडियोसहितको उजुरीमा दाबी गरिएको छ । मन्त्री गुप्ताले कास्कीका एक व्यापारीसँग घुस लेनदेन गरेको अडियो रेकर्ड आर्थिक दैनिकले सार्वजनिक गरिसकेको छ । कर्मचारी थमौतीका लागि घुस लेनदेन गरेको, घुसबापत प्राप्त रकम दराजमा राखेको अडियोमा सुन्न सकिन्छ ।