काठमाडौं । सिटिजन्स बैंकको कोष प्रवद्र्धक रहेको सिटिजन्स सदाबहार योजना सञ्चालनमा आउने भएको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रथम खुलामुखी योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट ५० करोडको एसआईपी समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति प्राप्त भई मिति २०८२ असार १३ गतेदेखि १७ (बैंकिङ समयसम्म) योजनाको एकाइ निष्काशन खुला रहने कम्पनीले जानकारी दिएको छ । साथै, उक्त समयसम्ममा सम्पूर्ण एकाइ बिक्री नभएको अवस्थामा मिति २०८२ असार २७ गते बैंकिङ समयसम्म एकाइ बिक्रीका लागि खुला रहनेछ ।
सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो सेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेको सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सय र अधिकतम पाँच लाख एकाइ खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । साथै, यस योजनाको प्रथम चरणमा निष्काशित एकाइ बाँडफाँटपश्चात् नियामक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई एसआईपीमार्फत थप एकाइहरू निष्काशनको व्यवस्था समेत मिलाइनेछ ।
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित अन्य योजनाहरूमध्ये प्रतिएकाइ अंकित मूल्य १०/– दरका आठ करोड २० लाख एकाइहरू रहेको सिटिजन्स म्युचुअल फन्ड १ नामक ७ वर्षे बन्दमुखी योजना परिपक्व भई, अन्तिम प्रतिएकाइ खुद सम्पत्ति मूल्य ११.३० मा प्रचलित कानुनबमोजिम कर कट्टी समायोजन गरी एकाइधनीहरूको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आज मिति २०८२/०२/२७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको जानकारी समेत कम्पनीले दिएको छ ।
सिटिजन्स म्युचुअल फन्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको प्रतिफल समेत प्रतिएकाइ लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रथम ७ वर्षे बन्दमुखी योजना सिटिजन्स म्युचुअल फन्ड १ लाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण एकाइधनी महानुभावहरू, सम्पूर्ण नियमन निकायहरूलाई कोष व्यवस्थापकको तर्फबाट हार्दिक धन्यवाद दिएको छ ।
भौतिकरूपमा एकाइ धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराएका एकाइधनीहरूले रकम फिर्ता भुक्तानी (प्रतिफल समेत) प्राप्त गर्नका लागि यस सिटिजन्स क्यापिटल लिमिटेडमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नं. र हितग्राही खाता नं. स्पष्टसँग उल्लेख गरी निवेदन पेस गर्न समेत अनुरोध गरेको छ । आफ्नो एकाइ धितोमा राखी कर्जा सुविधा उपभोग गरेका एकाइधनीहरूले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको एकाइको संख्या समेत खुल्ने गरी फुकुवा पत्र सिटिजन्स क्यापिटल लिमिटेडमा पेस गरेपछि एकाइधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने बेहोरा अनुरोध गरेको छ । साथै, विगतका आर्थिक वर्षहरूमा वितरण गरेको प्रतिफल समेत हालसम्म विभिन्न कारणबस प्राप्त गर्न नसकेका एकाइधनीहरूले आ–आफ्नो डिम्याट खातामा बैंक खाता नं. समेत अद्यावधिक गराउन अनुरोध गरेको छ ।